सुशील भण्डारी
अछाम । मध्यपहाडी (पुष्पलाल) राजमार्गअन्तर्गत अछामको मङ्गलसेन–ठाँटीखाद सडकखण्डको कालोपत्र निर्धारित समय अगावै सकिएको छ । निर्माण कम्पनी शर्मा चन्द्रा एण्ड बसन्त दिवा जेभीले सरकारसँग २०७६ असार मसान्तभित्र सो सडकखण्ड कालोपत्र गरिसक्ने सम्झौता गरे पनि हालै मात्र काम सम्पन्न गरेको हो ।
कम्पनीले सो सडकखण्डको ९० प्रतिशतभन्दा बढी काम गरिसकेको राजमार्र्गको पश्चिम दाङअन्तर्गत अछाम खण्ड इञ्जिनीयर तुलाराम शर्माले बताए । यो खण्डको बाँकी रहेको एक सय २० मिटरमा आरसीसीको काम भइरहेको छ । कम्पनीले सडकखण्डको १६ किमी काम सम्पन्न गर्न ३२ करोड ८७ लाख रुपैयाँमा ठेक्का लिएको थियो ।
आगामी असारसम्म मध्यपहाडी लोकमार्गको अछाम सडकखण्ड निर्माण पूरा गर्न चार खण्डमा वर्गीकरण गरी काम अघि बढाइएको छ । कैलाशखोला सडकखण्डको काम लामा पी.एस. जेभी, मङ्गलसेन–ठाँटीखाद सडकखण्डको काम शर्मा चन्द्रा एण्ड बसन्त दिवा जेभी, ठाँटीखाद–विनायक सडकखण्ड लुम्बिनी अनक राजेन्द्र जेभी र विनायक बेलखेत सडकखण्डको काम गङ्गोत्री ओसिस इञ्जिनीयर्स एण्ड बिल्डर्सले गरिरहेका छन् ।
नेपाल सरकारको गौरवको आयोजनाअन्तर्गत पर्ने राजमार्र्गको काम सम्पन्न भइसकेपछि अछाम जिल्लाको विकासमा निकै नै टेवा पुग्ने देखिन्छ । राजमार्गको कारण अछामको पर्यटकीय क्षेत्र रामारोशन, बैजनाथधाम, खप्तडलगायतका क्षेत्रहरूमा पर्यटक भित्र्याउन सकिनेछ ।
नेपालका पहाडी जिल्लामा आवागमन सहज गरी त्यहाँको विकासमा तीव्रता ल्याउन मध्यपहाडी लोकमार्गको अवधारणा ल्याइएको हो । मुलुकको पूर्व पश्चिमसम्म जोड्ने महेन्द्र राजमार्ग र हुलाकी राजमार्गपछिको मध्यपहाडी (पुष्पलाल) राजमार्ग विकल्पको रूपमा रहेको राजमार्ग हो । यसको लम्बाइ १ हजार ७ सय ७६ किलोमिटर हुनेछ ।
यो राजमार्ग पाँचथर जिल्लाको पूर्वी भेगमा पर्ने चियोभञ्ज्याङबाट शुरू भई बैतडी जिल्लाको झुलाघाटमा गएर टुङ्गिन्छ । चियोभञ्ज्याङदेखि झुलाघाटसम्म पुग्दा यो राजमार्गले पहाडका ३९ जिल्लामध्ये २४ जिल्ला पार गर्छ । ती जिल्लामध्ये पनि १९ जिल्लाका सदरमुकाम छिचोलेर वा छोएर जान्छ ।
Newsletter Subscribe to our news letter for daily news directly in your Mail box.
© 2025 New Business Age Ltd. All rights reserved.