काठमाडौं । प्रतिनिधिसभाका १६२ निर्वाचन क्षेत्रको नतिजा सार्वजनिक हुँदा ३ क्षेत्रमा भने मतगणना भइरहेको छ । बाजुरा–१, स्याङ्जा–२ र दोलखा–१ मा मतगणना जारी छ । तीमध्ये बाजुरा–१ र स्याङ्जा–२ मा नेपाली कांग्रेसका उम्मेदवारले अग्रता लिएका छन् भने दोलखा–१ मा नेकपा माओवादी केन्द्रका उम्मेदवार अगाडि छन् ।
बाजुरा–१ मा ७ हजार ५१० मतको गणना सकिँदा कांग्रेस उम्मेदवार बद्री पाण्डेले ४ हजार २१४ मतसहित अग्रता लिएका छन् । नेकपा एमालेका उम्मेदवार कर्ण थापाले ३ हजार ६६ मतसहित उनलाई पछ्याइरहेका छन् ।
स्याङ्जा–२ मा कांग्रेस उम्मेदवार धनराज गुरुङले ८ हजार ८९९ मतसहित अग्रता लिएका छन् । सो क्षेत्रमा एमालेकी उम्मेदवार पद्मा कुमारी अर्यालले ६ हजार ३८९ मतसहित पछ्याइरहेकी छन् ।
दोलखा–१ मा भने नेकपा माओवादी केन्द्रका उम्मेदवार गंगा कार्की अग्रता लिएका छन् । निर्वाचन आयोगका अनुसार गणना भएको ३ हजार ६४३ मतमध्ये कार्कीले २ हजार ३३९ मत पाएका छन् भने एमाले उम्मेदवार बालकृष्ण शिवाकोटीले ९३२ मत ल्याएका छन् । यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार जगदीश खरेलले ११८ मत ल्याएका छन् भने राप्रपाका विजय खड्काले ३७ मत पाएका छन् ।
अहिलेकै हिसाबमा मत बाँडिए कांग्रेसको २ र माओवादी केन्द्रको १ सिट थपिनेछ । यही मत परिणाम अनुसार नतिजा आए कांग्रेसकाे ५७ सिट पुग्नेछ भने माओवादी केन्द्रको १८ सिट हुनेछ ।
मतपरिणाम सार्वजनिक भएका १६२ निर्वाचन क्षेत्रमध्ये कांग्रेसले ५५ सिटमा जित निकालेको छ । यस्तै, एमालेले ४४, माओवादी केन्द्रले १७, नेकपा (एकीकृत समाजवादी)ले १०, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र जनता समाजवादी पार्टी (जसपा) नेपालले ७–७ सिट जितेका छन् ।
यसैगरी, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले ४, नागरिक उन्मुक्ति पार्टीले ३, जनमत पार्टी, नेपाल मजदूर किसान पार्टी र राष्ट्रिय जनमोर्चाले १–१ निर्वाचन क्षेत्रमा जित हासिल गरेका छन् ।
३ निर्वाचन क्षेत्रमा यसकारण भयाे मतगणनामा ढिलाइ
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनअन्तर्गत यही मंसिर ४ गते भएको मतदानमा यी ३ ओटै निर्वाचन क्षेत्रमा विवाद भयाे । विवादका कारण पुनः मतदानको माग गरिएपछि मतगणना सुचारु हुन सकेन ।
निर्वाचन आयोगले यीमध्ये दोलखा–१ का १० ओटा मतदान केन्द्रमा पुन: मतदान गर्ने र अन्यत्र मतगणना गर्ने निर्णय गरेपछि बुधवारबाट स्याङ्जा-२ मा र बिहीवारबाट बाजुरा-१ मा मतगणना भएको हो ।
दोलखा–१ मा भने बिहीवारको मतदानपछि मतगणना थालिएकाे हाे । उक्त क्षेत्रका १० ओटा मतदान केन्द्रमा भने बिहीवार पुनः मतदान भएको थियो ।