काठमाडौं । पश्चिम नेपालमा दर्जनौ बजार नदी किनारमा बसेका छन् । सुदूरपश्चिम प्रदेशको दार्चुलादेखि गण्डकी प्रदेशको बागलुङसम्म दर्जनौ शहर नदी किनारमा अवस्थित छन् ।
पहाडी भूभाग भएकाले ती शहर/बजारमा थप वस्ती विस्तारको सम्भावना निकै कम छ । एकतिर नदी र अर्कोतिर पहाडले च्यापेका ती ठाउँहरूमा सीमित जग्गा भएकै कारण जग्गाको मूल्य काठमाडौंभन्दा महँगो भइसकेको छ ।
सरकारले तोकेको न्युनतम मूल्याङ्कन नै रोपनीको २० लाख देखि पौने २ करोड रुपैयाँ हाराहारी भएका ती ठाउँमा चलनचल्तीको मूल्य कैयौं गुणा बढी छ । जग्गाको उपलब्धता घट्दै गएपछि त्याहाँ जग्गा किनबेचको शैली पनि फेरिएको छ ।
अर्थात जग्गाको क्षेत्रफल वर्गमिटर, धुर वा आना नभएर हातको आधारमा नापिन्छ । १ हात लम्बाइ (मोहडा) र २० हात चौडाइ (पिछडा) भएको जग्गाको मूल्य १० लाख रुपैयाँसम्म पर्छ । १० हात लम्बाइ र २० हात चौडाइ भएको जग्गाको मूल्य १ करोड रुपैयाँ पर्छ ।
यसरी एउटा ठिक्कको घडेरी किन्न पनि यी मध्ये धेरै ठाउँमा १ करोड रुपैयाँभन्दा बढी खर्च गर्नुपर्छ । जुन काठमाडौंका काठ क्षेत्रमा पाइने घडेरी जग्गाको मूल्यभन्दा बढी हो ।
१. खलंगा, दार्चुला
भारत र चीनसँग सीमा जोडिएको सुदूरपश्चिम प्रदेशको पनि सुदूर जिल्ला दार्चुलाको सदरमुकाम हो खलंगा बजार । यो बजार महाकाली नदीको किनारमा अवस्थित छ । यहाँ सरकारी मूल्याङ्कन अनुसार १ रोपनी जग्गाको न्युनतम मूल्याङ्कन ६७ लाख ५० हजार रुपैयाँ छ । तर चलनचल्तीमा भने यहाँ सामान्य ठाउँमा पनि रोपनीको डेढदेखि २ करोड रुपैयाँ मूल्य पर्ने गरेको छ ।
महाकाली नदी किनारमा अवस्थित दार्चुला सदरमुकाम खलंगा बजार । तस्वीर : सामाजिक सञ्जाल
२. चैनपुर, बझाङ
सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला बझाङको सदरमुकाम हो चैनपुर बजार । यो बजार सेती नदीको किनारमा अवस्थित छ । यहाँ सरकारी मूल्याङ्कन अनुसार १ रोपनी जग्गाको न्युनतम मूल्याङ्कन ५८ लाख ८० हजार रुपैयाँ रहेको छ । चलनचल्तीमा भने यहाँ पनि रोपनीको १ करोड घटिमा किनबेच हुँदैन ।
सेती नदीको किनारमा अवस्थित बझाङ सदरमुकाम चैनपुर बजार । तस्वीर : रासस
३. दिपायल, डोटी
सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला हो डोटी । नेपालमा संघियता कार्यान्वयन हुनुअघि सुदूरपश्चिमाञ्चल विकास क्षेत्रको क्षेत्रीय निर्देशनालयहरू रहेको ठाउँ हो दिपायल । अहिले दिपायल सिलगढी नगरपालिकामा पर्ने यो ठाउँ सेती नदीको किनारमा अवस्थित छ । डोटीको सदरमुकाम समेत रहेको यहाँ एक रोपनी जग्गाको न्युनतम मूल्याङ्कन ९६ लाख रुपैयाँसम्म रहेको छ । चलनचल्तीको मूल्य यहाँ पनि डेढदेखि २ करोड रुपैयाँभन्दा बढी रहेको छ ।
सेती नदीको किनारमा अवस्थित डोटी सदरमुकाम दिपायल बजार । तस्वीर : हेमन्त राई
४. साँफेबगर, अछाम
सुदूरपश्चिमकै पहाडी जिल्ला अछामको प्रमुख व्यापारिक क्षेत्र हो साँफेबगर । मध्यपहाडी राजमार्गले समेत छुने यो बजार बुढीगंगा नदीको किनारमा अवस्थित छ । यहाँ एक रोपनी जग्गाको सरकारी मूल्याङ्कन २८ लाख रुपैयाँ छ । चलनचल्तीमा भने यहाँ पनि ५० लाख देखि १ करोड रुपैयाँसम्म नै रहेको छ ।
बुढीगंगा नदी किनारमा अवस्थित साँफेबगर बजार । तस्वीर : सामाजिक सञ्जाल
५. चन्दननाथ, जुम्ला
कर्णाली प्रदेशको उत्तरी जिल्ला जुम्लाको सदरमुकाम हो चन्दननाथ नगरपालिका । यो तिला नदीको किनारमा अवस्थित छ । यहाँ १ रोपनी जग्गाको न्युनतम मूल्याङ्कन ८८ लाख ७ हजार रुपैयाँसम्म रहेको छ । चलनचल्तीमा भने यहाँ पनि डेढदेखि २ करोड रुपैयाँ घटिमा १ रोपनी जग्गाको किनबेच हुँदैन ।
तिला नदी किनारमा अवस्थित जुम्ला सदरमुकाम खलंगा । तस्वीर : लेकाली युवा क्लव जुम्ला
६. राकम कर्णाली, दैलेख
कर्णाली प्रदेशमै पर्ने दैलेखको राकम कर्णाली उदाउँदो बजार क्षेत्र हो । मध्यपहाडी राजमार्ग र जुम्ला सुर्खेत राजमार्गसँग जोडिएको राकम बजार कर्णाली नदी किनारमा अवस्थित छ । यहाँ एक रोपनी जग्गाको सरकारी मूल्याङ्कन करीब २० लाख रुपैयाँ छ । तर चलनचल्तीमा भने यहाँ पनि एक करोड रुपैयाँ घटिमा घडेरी जग्गा किन्न सकिन्न । यहाँ एक हात जग्गाकै १० लाख रुपैयाँसम्म मोलमोलाई हुने गरेको छ ।
कर्णाली नदी किनारमा अवस्थित दैलेखको राकम बजार । तस्वीर : बीर्ख बडुवाल
७. दुनै, डोल्पा
कर्णाली प्रदेशको हिमाली जिल्ला हो डोल्पा । डोल्पा सदरमुकाम दुनै बजार ठूलीभेरी नदीको किनारमा अवस्थित छ । यो सुन्दर नगरीमा जग्गाको मूल्य अन्य ठाउँमा जस्तो महँगो छैन । यहाँ प्रतिरोपनी जग्गाको न्युनतम मूल्याङ्कन करीब १८ लाख रुपैयाँ रहेको छ । तर यहाँ जग्गाको किनबेच निकै कम हुने हुँदा चलनचल्तीको मूल्यमा धेरै ठूलो अन्तर भने नरहेको मालपोत कार्यालयको भनाइ छ । यहाँ चलनचल्तीमा पनि प्रतिरोपनी ३० देखि ३५ लाख रुपैयाँमा जग्गा किनबेच हुन्छ ।
ठूलीभेरी नदी किनारमा अवस्थित डोल्पा सदरमुकाम दुनै बजार । तस्वीर : पदम बिक
८. कुश्मा, पर्वत
गण्डकी प्रदेशमा पर्ने पर्वत जिल्ला सदरमुकाम कुश्मा बजार कालिगण्डकी नदी किनारमा अवस्थित छ । यहाँ १ रोपनी जग्गाको सरकारी मूल्याङ्कन १ करोड ३ लाख रुपैयाँ रहेको छ । चलनचल्तीमा यहाँ १ रोपनी जग्गा २ देखि ३ करोड रुपैयाँसम्म पर्छ ।
कालिगण्डकी नदी किनारमा अवस्थित पर्वत सदरमुकाम कुश्मा बजार । तस्वीर : हिमाल सञ्चार
९. बागलुङ बजार, बागलुङ
गण्डकी प्रदेशमा पर्ने बागलुङ जिल्लाको सदरमुकाम हो बागलुङ बजार । यो पनि कालिगण्डकी नदीको किनारमा अवस्थित छ । यहाँ १ रोपनी जग्गाको सरकारी मूल्याङ्कन नै पौने २ करोड रुपैयाँ भन्दा बढी छ । अर्थात चालू आर्थिक वर्ष २०७९/८० का लागि मालपोत कार्यालयले तोकेको न्युनतम मूल्याङ्कनमा प्रतिरोपनी १ करोड ८३ लाख रुपैयाँसम्म मूल्य तोकिएको छ । चलनचल्तीमा यहाँ २ देखि ५ करोड रुपैयाँसम्ममा किनबेच हुने गरेको छ ।
कालिगण्डकी नदी किनारमा अवस्थित बागुलङ बजार । तस्वीर : रासस
१०. बेनी, म्याग्दी
गण्डकी प्रदेशमा पर्ने म्याग्दी जिल्लाको सदरमुकाम बेनी बजार । यो बजार पनि कालिगण्डकी नदीकै किनारमा अवस्थित छ । यहाँ १ रोपनी जग्गाको न्युनतम मूल्याङ्कन १ करोड ५८ लाख रुपैयाँ छ । चलनचल्तीमा भने यहाँ प्रतिरोपनी २ देखि ५ करोड रुपैयाँसम्मा कारोबार भइरहेको पाइन्छ ।
कालिगण्डकी नदी किनारमा अवस्थित म्याग्दि सदरमुकाम बेनी बजार । तस्वीर : रासस