साउन १९, बाँके । नेपालगञ्ज उपमहानगरपालिका आर्थिक बर्ष ०७४/ ०७५ निर्धारण गरे भन्दा बढी आन्तरिक आम्दानी गर्न सफल भएको छ । उपमहानगरपालिकाले राखेको लक्ष्य भन्दा ४९ हजार बढी राजस्व आम्दानी गर्न नेपालगञ्ज उपमहानगरपालिका सफल भएको हो ।
प्रमुख प्रशासकीय अधिकृत हरी प्याकुरेलले उप–महानगरपालिकाले रू. १४ करोड ११ लाख आन्तरिक आम्दानी हुने लक्ष्य राखेकोमा रू. १४ करोड ११ लाख ४९ हजार आम्दानी गरेको जानकारी दिए । उनले भने,‘उपमहानगरपालिकाले राखेको लक्ष्य भन्दा रू.४९ हजार बढी आम्दानी गर्न सफल भएका छौं । ’
नेपालगञ्ज उपमहानगरपालिकाले सम्पत्ति करबाट रू.४ करोड २० लाख, भाँडा तथा बहालबाट रू. १ करोड १३ लाख, बहाल कर रू. १ करोड ७२ लाख, नक्सा पास दस्तुर रू. २ करोड ८७ लाख, सिफारिस दस्तुर तथा बक्सौनी रू. १ करोड १७ हजार राजस्व संकलन गरेको हो ।
उपमहानगरपालिकामा जनप्रतिनिधिहरु आएपछि राजस्व संकलन बढेको हो । दक्ष जनशक्ति, बाणिज्य संघ, मालपोत लगायतको सहयोग र जनतामा कर तिर्नुपर्छ भन्ने भावनामा विकास भएपछि आम्दानी लक्ष्य अनुसार भएको प्रमुख प्रशासकीय अधिकृत प्याकुरेलले बताए ।
करको दायरामा अझ धेरैलाई समेटन बाँकी रहेको भन्दै उनले केही प्रतिशत आम्दानी वडामा उपलब्ध गराउने नीति लिएको जानकारी दिए ।