काठमाडौं । नेपाल इन्स्योरेन्स लिमिटेडको बोनस शेयरपछि चुक्तापूँजी बढेकाले हकप्रद शेयरको अनुपात घटेको छ ।
कम्पनीले नेपाल धितोपत्र बोर्डबाट १ अर्ब ६४ करोड ४२ लाख ४१ हजार ९४० रुपैयाँको आधारमा १० बराबर ४ को अनुपातमा ६५ लाख ७६ हजार ९६७ दशमलव ७६ कित्ता हकप्रद शेयर निष्कासन गर्ने अनुमति पाएको थियो ।
कम्पनीले यस वर्ष १५ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव चैत १९ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित गरिसकेको छ ।
बोनसपछि कम्पनीको चुक्तापूँजी १ अर्ब ८९ करोड ८ लाख ७८ हजार १३१ रुपैयाँ कायम भइसकेको छ । यस अवस्थामा बोर्डले जेठ २३ गते दिएको निर्देशन अनुसार बोनसपछि कायम चुक्तापूँजीका आधारमा बोर्डले स्वीकृत गरेको रकम बराबर हुने गरी १० बराबर ३ दशमलव ४७८३ को अनुपातमा कम्पनीले हकप्रद शेयर निष्कासन गर्ने जानकारी गराएको छ ।
यो हकप्रद शेयर निष्कासन प्रयोजनका लागि कम्पनीले जेठ ३० गते एक दिन बुक क्लोज गर्दैछ । बुक क्लोजको आधारमा जेठ २९ गतेसम्म कायम शेयरधनीहरू मात्र हकप्रद शेयर खरीदका लागि आवेदन दिन पाउनेछन् । कम्पनीले हकप्रद शेयर निष्कासन मिति भने तय गर्न बाँकी रहेको छ ।