काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीसँग नेपाल भ्रमणमा रहेको चीनको सिजाङ प्रदेश सरकारका कार्यकारी उपाध्यक्ष डन वा नेतृत्वको प्रतिनिधि मण्डलले भेटवार्ता गरेको छ ।
सिंहदरवारस्थित मन्त्रालयमा भएको भेटवार्तामा मन्त्री अधिकारीले नेपाल र चीनबीच कृषि क्षेत्रमा विगतदेखि नै सहयोग र सहकार्य हुँदै आएको उल्लेख गर्दै आगामी दिनमा कृषि क्षेत्रमा चीनको सहयोग थप अभिवृद्धि हुने अपेक्षा व्यक्त गरे ।
मन्त्री अधिकारीले नेपालबाट चीनतर्फ निर्यात गर्न सकिने वस्तुहरूमध्य चिया, नेपाली जडीबुटी एवं राँगोको मासुलाई चीनको भन्सार प्रवेशका लागि प्रक्रिया अघि बढेकोमा चीन सरकारलाई धन्यवाद व्यक्त गरे ।
मन्त्री अधिकारीले जडीबुटी निर्यातको लागि पनि हाल पाँचओटा कम्पनी यस प्रक्रियामा दर्ता भएकाले थप सहजीकरणमा सहयोग गर्न उपाध्यक्ष वा समक्ष आग्रह गरे ।
सन् २०१९ मा नेपाल चीनबीच हस्ताक्षर भएको सुन्तला जातका फलफूल निर्यातसम्बन्धी सम्झौता र २०२२ मा भएको घाँस निर्यातसम्बन्धी सम्झौताको कार्यन्वयनका लागि आधारभुत आवश्यकता तयार गर्न प्राविधिक सहयोगका लागि पनि मन्त्री अधिकारीले चिनियाँ प्रतिनिधि मण्डलसँग आग्रह गरे ।
भेटवार्तामा उपाध्यक्ष वाले नेपालको चिया, जडीबुटी आदिको माग चीनभरि रहेको र नेपालबाट यसको निर्यातका लागि आफूले सहजीकरण गर्ने बताए । सुन्तला जातका फलफूल निर्यात गर्नका लागि उपयुक्त भण्डारण स्थल आवश्यक पर्ने र यसका लागि सहयोग गर्न तयार रहेको पनि उनले उल्लेख गरे ।
नेपाली व्यवसायीहरूलाई सिजाङमा हुने व्यापारिक प्रदर्शनीमा भाग लिन आग्रह गर्दै उपाध्यक्ष वाले यसमार्फत नेपाली उत्पादनलाई चिनियाँ बजारसम्म पुर्याउन सहज हुने बताए ।