काठमाडौं । बुधवार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले दुई कम्पनीको शेयर मूल्य समायोजन गरेको छ ।
नेप्सेले एशियन लाइफ इन्स्योरेन्स र प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको शेयर मूल्य समायोजन गरेको हो । नेप्सेले एशियन लाइफ इन्स्योरेन्सको ४२ प्रतिशत हकप्रद शेयर निष्कासन प्रयोजनका लागि र प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको ८ प्रतिशत बोनस शेयर प्रयोजनका लागि मूल्य समायोजन गरेको हो ।
प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको बुधवार कायम अन्तिम शेयर मूल्य ५५३ रुपैयाँ ५९ पैसाको आधारमा ८ प्रतिशत बोनस शेयरपछिको मूल्य नेप्सेले प्रतिकित्ता ५१२ रुपैयाँ ५८ पैसा तोकेको छ ।
प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले यस वर्ष ८ प्रतिशत बोनस शेयरसँगै कर प्रयोजनका लागि शून्य दशमलव ४२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
उक्त प्रस्ताव पारितका लागि कम्पनीले जेठ २६ गते वार्षिक साधारण सभा गर्दैछ । सभा प्रयोजनका लागि कम्पनीले जेठ १६ गते बुक क्लोज गर्न लागेको छ । बुक क्लोजको आधारमा जेठ १४ गतेसम्म कायम शेयरधनीहरू मात्र बोनस शेयर प्राप्त गर्न योग्य भएका छन् ।
त्यस्तै एशियन लाइफ इन्स्योरेन्सले पनि ४२ प्रतिशत हकप्रद शेयर निष्कासन प्रयोजनका लागि जेठ १६ गते बुक क्लोज गर्न लागेको छ । बुक क्लोजका आधारमा जेठ १४ गतेसम्म कायम शेयरधनीहरू मात्र हकप्रद खरीद गर्न योग्य हुने भएका छन् ।