काठमाडौं । बेष्ट फाइनान्स कम्पनी लिमिटेडले असार १८ गते २८औं वार्षिक साधारण सभा बोलाएको छ । जेठ १२ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादी, काठमाडौंमा विहान ११ बजे सभा गर्ने निर्णय गरेको हो । सभाले गत आर्थिक वर्ष ०८०/८१ को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु पारित गर्नुका साथै चालू आर्थिक वर्ष ०८१/८२ को लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारणको विषय टुङ्ग्याउनेछ ।
साथै अन्य कुनै उपयुक्त बैंक तथा वित्तीय संस्थासँग मर्जर तथा प्राप्तिमा जाने संकेत पनि कम्पनीले गरेको छ । साधारण सभाबाट मर्जर तथा प्राप्ति प्रक्रियामा जाने भएमा त्यसको सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय पनि सभाले गर्नेछ । यस कम्पनीले आर्थिक वर्ष ०६७/६८ पछि लगानीकर्तालाई लाभांश वितरण गरेको छैन् । उक्त वर्ष भने कम्पनीले २० प्रतिशत बोनस शेयर वितरण गरेको देखिन्छ । २८औं वार्षिक साधारण सभा प्रयोजनका लागि कम्पनीले जेठ २५ गते एक दिन बुक क्लोज गर्न लागेको छ । बुक क्लोजको आधारमा जेठ २२ गते बिहीवारसम्म कायम शेयरधनीहरुले मात्र सभामा भाग लिन पाउनेछन् ।