काठमाडौं । धितोपत्र दोस्रो बजारमा सूचीकृत कम्पनीहरुमध्ये सर्वाधिक पूँजीकरण भएका १० कम्पनीको सूचीमा चार वाणिज्य बैंक परेका छन् । नेप्सेले सार्वजनिक गरेको वैशाख मसान्तसम्मको शेयरमूल्यका आधारमा नबिल बैंकसहित चार वाणिज्य बैंकहरु सर्वाधिक पूँजीकरण भएका दश कम्पनीहरुको सूचीमा परेको हो । पहिलो नम्बरमा विशाल बजार कम्पनी रहेको छ भने दोस्रोमा नेपाल पुनर्बीमा कम्पनी, तेस्रोमा नेपाल दुरसञ्चार कम्पनी, चौथोमा नबिल बैंक, पाँचौमा नागरिक लगानीकोष, छैठौंमा हिमालयन रिइन्स्योरेन्स, सातौमा ग्लोबल आइएमई बेंक, नवौंमा हाइड्रोइलेक्ट्रिसिटी इनभेष्टमेन्ट र दशौं नम्बरमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंक रहेको छ । वैशाख मसान्तसम्म विशाल बजार कम्पनीको कुल बजार पूँजीकरण २ खर्ब २७ अर्ब ९४ करोड रुपैयाँभन्दा बढी रहेको छ । वैशाख मसान्तसम्म विशाल बजार कम्पनीको शेयरमूल्य प्रतिकित्ता ५ हजार ६८४ रुपैयाँ ४३ पैसा रहेको छ ।
पछिल्लो कारोबार दिन जेठ १४ गते भने विशाल बजार कम्पनीको शेयरमूल्य प्रतिकित्ता ५ हजार ६९९ रुपैयाँ कायम भएको छ । विशाल बजार कम्पनीको दोस्रो बजारमा ४ करोड १ लाख कित्ता शेयर सूचीकृत रहेको छ । केहि समयअघिसम्म सर्वाधिक पूँजीकरणको पहिलो नम्बरको सूचीमा रहेको नेपाल दुरसञ्चार कम्पनी भने पछिल्लो समय तेस्रो नम्बरमा रहेको छ । नेपाल दुरसञ्चार कम्पनीको दोस्रो बजारमा १८ करोड कित्ता शेयर सूचीकृत रहेको छ । पूँजीकरणमा दोस्रो नम्बरमा भने नेपाल पुनर्बीमा कम्पनीले स्थान कायम गरेको छ । पुनर्बीमा क्षेत्रको यस कम्पनीको दोस्रो बजारमा १३ करोड ४२ लाख २१ हजार ८७१ कित्ता शेयर सूचीकृत रहेको छ ।