काठमाडौं । एनएमबि म्युचुअल फण्डअन्तर्गत सञ्चालित एनएमबि हाईब्रिड फण्ड एल–२ को नोक्सानी बढेको छ ।
चैत मसानतसम्म १ करोड ३८ लाख रुपैयाँभन्दा बढी नोक्सानीमा रहेको योजना वैशाख मसान्तसम्म भने १ करोड ६१ लाख रुपैयाँभन्दा बढी नोक्सानीमा रहेको छ । वैशाख मसान्तसम्म योजनाको जम्मा आम्दानी ७० लाख रुपैयाँभन्दा बढी ऋणात्मक छ । यो रकम चैत मसान्तसम्म भने ६९ लाख ३१ हजार रुपैयाँभन्दा बढी ऋणात्मक थियो ।
खर्च पनि वैशाखमा बढेको छ । चैतसम्म ६९ लाख १५ हजार रुपैयाँ खर्च गरेको योजनाले वैशाखमा भने ९१ लाख ७० हजार रुपैयाँभन्दा बढी खर्च गरेको हो ।
२०८१ सालदेखि सञ्चालनमा आएको बन्दमुखी प्रकृतिको यस योजना १० वर्षे अवधिको रहेको छ । योजनाले धितोपत्र र बैंक मुद्दती निक्षेपमा गरेको लगानीको बजार मूल्य भने १ अर्ब ८ करोड रुपैयाँभन्दा बढी रहेको छ ।
वैशाख मसान्तसम्म योजनाको धितोपत्रमा गरेको लगानीको परल मूल्य भने ७६ करोड ४५ लाख रुपैयाँभन्दा बढी छ । बैंक मुद्दती निक्षेपमा योजनाको २० करोड रुपैयाँ लगानी छ ।
वैशाख मसान्तसम्म योजनाको प्रतिइकाई खुद सम्पत्ति मूल्य ९ रुपैयाँ ८८ पैसा रहेको छ । चैत मसान्तसम्म योजनाको प्रतिइकाई खुद सम्पत्ति मूल्य ९ रुपैयाँ ९० पैसा थियो ।