काठमाडौं । प्रभु क्यापिटल लिमिटेडले जेठ २३ गतेदेखि नयाँ योजना सञ्चालनका लागि इकाई निष्कासन गर्ने भएको छ । क्यापिटलले प्रभु सिस्टमेटिक इन्भेष्टमेण्ट स्किम नाम खुलामुखी योजना सञ्चालन गर्न लागेको हो । त्यसका लागि क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित मूल्यका २५ करोड रुपैयाँ बराबरको २ करोड ५० लाख इकाई विक्री गर्न लागेको हो ।यस योजनाको कुल आकार ४ करोड इकाइको हुनेछ । कुल इकाईमध्ये ७ दशमलव ५ प्रतिशत अर्थात ३० लाख इकाई कोष प्रबर्धक प्रभु बैंक र ७ दशमल ५ प्रतिशत अर्थात ३० लाख इकाई योजना व्यवस्थापक प्रभु क्यापिटललाई सुरक्षित गरिएको छ । यी वाहेक २ करोड ५० लाख इकाई भने सार्वजनिक निष्कासनमा आउन लागेको हो । यी इकाई छिटोमा जेठ २७ गतेसम्म निष्कासनमा रहनेछ भने सो अवधिसम्म माग बमोजिम आवेदन नपरेमा भने ढिलोमा असार ६ गतेसम्म निष्कासन खुला रहनेछ ।
इकाई निष्काशन तथा बिक्री प्रबन्धकको जिम्मेवारी पनि योजना व्यवस्थापक प्रभु क्यापिटल लिमिटेडले पुरा गर्नेछ । इच्छुक खरीदकर्ताहरुले यी इकाई खरीदका लागि सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका कार्यालयमार्फत आवेदन पेश गर्न सक्नेछन् । साथै मेरो शेयर अनलाईन समेत आवेदनका लागि प्रयोग गर्न सक्नेछन् । इकाई निष्कासनका लागि गराइएको रेटिङ्गमा इक्रा नेपालले कोष प्रबर्धकलाई इक्राएनपी इस्यूअर रेटिङ्ग ट्रिपल बी माइनस प्रदान गरेको छ भने योजना व्यवस्थापकलाई केयर रेटिङ्ग नेपालले केयर एनपी एएमसी क्वालिटि ३ प्लस रेटिङ्ग प्रदान गरेको छ । यो योजना खुलामुखी प्रकृतिको भएकाले निरन्तर चलिरहनेछ । धितोपत्र दोस्रो बजारमा बन्दमुखी प्रकृतिको योजनाको जसरी कारोबार नहुने हुँदा योजना व्यवस्थापक तथा कोष प्रबद्र्धक आफै वा अन्य आधिकारिक संस्थाहरुलाई वितरक तोकी इकाई खरीदविक्री हुने व्यवस्था मिलाईनेछ । खुलामुखी योजनाका इकाईहरु खरीदविक्री गर्न इकाईधीहरुलाई कुनै प्रतिवन्ध हुदैंन । योजनाको खुद सम्पत्ति मूल्यको आधारमा यस योजनाको इकाई खरीदविक्री हुनेछ ।