काठमाडौं । वित्तीय क्षेत्रका बाहेक अधिकांश अन्य कम्पनीमा रहेको संस्थापक शेयर कारोबार गर्न नपाउने समयावधि (लकइन अवधि) सकिने बित्तिकै साधारण शेयरका रूपमा कारोबार भइरहेको छ ।
सार्वजनिक–निजी साझेदारी अवधारणाअन्तर्गत स्थापना भएको इमर्जिङ नेपाल लिमिटेडले भने लकइन अवधि सकिएको ३ महीना बितिसक्दा पनि संस्थापक र कर्मचारीतर्फको शेयरको किनबेच गर्न पाएको छैन ।
कम्पनीको संस्थापकतर्फको ५० लाख ४०० कित्ता र कर्मचारीतर्फको ११ हजार ११२ कित्ता शेयरको लकइन गत फागुन ३ गते सकिएको हो ।
यसको कारण हो– यो कम्पनीको संस्थापक र साधारण शेयरको इन्टरनेशनल सेक्युरिटी आइडेन्टिफिकेशन नम्बर (आईएसआईएन) अर्थात् आइजिन र शेयरको स्क्रिप्ट कोड फरक–फरक हुनु ।
वित्तीय क्षेत्रका कम्पनीहरूको हकमा आइजिन र स्क्रिप्ट कोड फरक फरक दिने गरे पनि अन्य क्षेत्रका कम्पनीका लागि सिडिएस एन्ड क्लियरिङ लिमिटेड र नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)ले सामान्यतया यी दुवै संकेत एउटै दिँदै आएका छन् ।
आइजिन भनेको १२ अंकको कोड हो, जसले धितोपत्र र बन्ड जस्ता वित्तीय उपकरणको चिनारी दिन्छ भने स्क्रिप्ट कोड कम्पनीको पहिचान दिने संकेत हो । तर, इमर्जिङको हकमा फरकफरक आइजिन र स्क्रिप्ट कोड दिइएको थियो ।
अहिले नेप्से, नेपाल धितोपत्र बोर्ड र सिडिएससीले अन्य कम्पनीलाई जस्तै यो कम्पनीलाई पनि एउटै आइजिन र स्क्रिप्ट कोड दिन एकअर्कालाई देखाएर कुनै निर्णय गरिदिएका छैनन् । तिनीहरूले न त एउटै आइजिन हुन सक्दैन भनेका छन् न हुन्छ ।
यसले गर्दा संस्थापक शेयर साधारण शेयरको रूपमा परिणत भई कारोबार हुने मितिबारे अन्योल छाएको छ ।
दुवै संकेत एउटै बनाइदिन कम्पनी गतवर्ष मङ्सिर १० गतदेखि नेप्से, सिडिएससी र धितोपत्र बोर्ड धाउन थाले पनि तिनीहरू एकले अर्कालाई देखाएर पन्छिने गरेको आर्थिक अभियानलाई प्राप्त कागजातबाट स्पष्ट देखिन्छ ।
‘निर्णय नगरिदिनु पनि भ्रष्टाचार हो भनेर कानूनले नै भनेको छ,’ इमर्जिङका एक उच्च अधिकारीले भने‚ ‘हाम्रो सम्बन्धमा यस्तै भएको छ ।’
उनका अनुसार बैंक, वित्तीय संस्था र बीमाबाहेकका कम्पनीले लकइन अवधि सकिएपछि संस्थापक शेयर साधारण शेयरसरह कारोबार गरिरहेका छन् । ‘सर्वसाधारणसरह कारोबारयोग्य भएको संस्थापक शेयरलाई एउटै आइजिन उपलब्ध गराउन बारम्बर माग गर्दा सुनुवाइ भएको छैन बरु अनेकौं बखेडा झिकिएको छ,’ उनले भने ।
सिडिएससीका उच्च अधिकारीले दुईओटा आइजिनलाई एउटै बनाउने स्पष्ट कानूनी व्यवस्था नभएकोले इमर्जिङलाई त्यसको लागि तत्काल स्वीकृति दिन नसकिएको बताए । ‘एउटै आइजिन हुने वा दुईओटा हुने भन्ने विषयमा सिडिएससी र सरोकारवाला निकायबीच छलफल भइरहेको छ,’ उनले भने । नेपालमा धितोपत्रहरुको आइजिन सिडिएससीले मात्र प्रदान गर्ने गर्छ । तत्कालका लागि इमर्जिङबाहेक अन्य कम्पनीको सम्बन्धमा समस्या नभएको ती अधिकारीको भनाइ छ ।
यस अवधिमा कम्पनी, नेप्से, सिडिएससी र धितोपत्र बोर्डबीच बारम्बार पत्राचार भएको छ । तर, कुनै पनि निकायले स्पष्ट निर्णय नगरिदिँदा कम्पनीको संस्थापक शेयरको कारोबार खुल्न नसकेको हो । कम्पनीको अनुरोधअनुसार नेप्सेले नेप्से संकेत त एउटै गरिदियो तर आइजिन एउटै बनाउने सम्बन्धमा सिडिएससीले कहिले साधारणसभाबाट निर्णय गराएर ल्याउन भन्ने कहिले धितोपत्र बोर्डको स्वीकृति आवश्यक रहेको भनी पत्राचार गर्ने काम गर्यो । धितोपत्र बोर्डले पनि कुनै स्पष्ट निर्देशन दिएन । सिडिएससीले आइजिन एउटै गर्नेबारे कुनै कानूनी व्यवस्था नरहेको जानकारी गराएपछि बोर्डले प्रचलित परिपाटी र असल अभ्यासअनुसार निर्णय गर्न सिडिएससीलाई निर्देशन दियो ।
तत्काल यस विषयमा कानूनी व्यवस्था नगरिए वा निर्णय नगरिए अन्य केही कम्पनीहरूले पनि यस्तै नियति भोग्नुपर्नेछ । लगानी समूहअन्तर्गत रहेको इमर्जिङ नेपालसँगै नागरिक लगानी कोष, हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी, नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडको समेत दुईओटा आइजिन छ ।
कम्पनीलाई कसरी घुमाइयो ?
- प्राप्त कागजातअनुसार नेप्सेलाई स्क्रिप्ट कोड संस्थापकको लागि ईएनल (पी) र सर्वसाधारणका लागि ईएनएल मात्र रहेकोमा एउटै कोड ईएनल बनाउन पहिलोपल्ट इमर्जिङबाट गत मङ्सिर १० गते नेप्सेमा पत्राचार ।
- मङ्सिर २५ गते लकइन अवधि सकिएपछि दुई छुट्टाछुट्टै आइजिन नचाहिने भएकाले कम्पनीको सम्पूर्ण शेयरको आइजिन संकेत आईएसआईएन एनपीई ३९३ए००००६ र नेप्से शेयर संकेत ईएनएल कायम गरिदिन कम्पनीबाट नेप्सेमा पत्राचार ।
- पुस २३ गते नेप्सेबाट लकइन अवधि सकिएपछि गत फागुन ४ गतेदेखि लागू हुने गरी कम्पनीको सम्पूर्ण शेयरको संकेत कम्पनीले मागेअनुसार ईएनएल कायम गरिदिएको लिखित जानकारी ।
- गत माघ ३ गते कम्पनीबाट नेप्सेले शेयर संकेत एउटै दिएकोले आइजिन र शेयर संकेत मागअनुसार एउटै बनाइदिन सिडिएससीलाई आग्रह ।
- गत माघ १० गते सिडिएससीबाट इमर्जिङको प्रबन्धपत्रको दफा ८ को उपदफा (ख) मा साधारणसभाको निर्णय नलिई संस्थापक र सर्वसाधारण समूहको शेयर स्वामित्व अनुपात परिवर्तन गरिने छैन भनी उल्लेख भएको र उक्त कम्पनीको साधारणसभाबाट अनुपात परिवर्तन गर्ने कुनै निर्णय नभएको उल्लेख गर्दै इमर्जिङलाई पत्राचार ।
- गत फागुन २ गते माघ ३० गतेको विशेष साधारणसभाले कम्पनीको प्रबन्धपत्रको दफा ८ को उपदफा (ख) मा उल्लेख भएअनुसार स्वामित्व परिवर्तनको निर्णय भएको जानकारी गराउँदै आइजिन र नेप्से शेयर संकेत एउटै बनाइदिन सिडिएससीलाई इमर्जिङको आग्रह ।
- फागुन ४ गते सिडिएससीबाट कम्पनीलाई फागुन ४ गतेदेखि लकइन फुकुवा गरिएको तर कम्पनीले सर्वसाधारणका लागि शेयर निष्कासन गर्नुभन्दा अगाडि संस्थापक समूह र सर्वसाधारण समूहमा के कति शेयर रहने भन्ने विषय उल्लेख गरी धितोपत्र दर्ता तथा निष्कासन नियमावली २०७३ बमोजिमको पूँजी संरचना सम्बन्धी जानकारी प्रकाशन गर्दा धितोपत्र बोर्डको स्वीकृतिमा प्रकाशित गरेकोले आइजिन परिवर्तन गर्न पनि बोर्डको स्वीकृति चाहिने र त्यसपछि मात्र सिडिएससीले आइजिन परिवर्तन गरिने जानकारी ।
- गत चैत १ गते कम्पनीबाट सिडिएससीले भनेअनुसार स्वीकृति प्रदान गर्न धितोपत्र बोर्डलाई अनुरोध ।
- चैत २२ गते इमर्जिङबाट यससम्बन्धी निर्णयमा ढिलाइ भएको भन्दै धितोपत्र बोर्डमा अर्को पत्राचार ।
- यस वर्ष वैशाख ३ गते इमर्जिङको अनुरोधको हवाला दिँदै धितोपत्र बोर्डबाट सिडिएससीलाई प्रचलित धितोपत्रसम्बन्धी कानूनी व्यवस्थाअनुसार गर्न/गराउन निर्देशन । तर एउटा आइजिन संकेत दिनेबारे स्पष्ट निर्देशन भएन ।
- यस वर्ष वैशाख १४ गते सिडिएससीबाट दुईओटा आइजिन मिसाएर एउटै बनाउने वा फरक फरक राख्नेबारे प्रचलित धितोपत्र कानूनमा कुनै व्यवस्था नभएको जानकारी गराउँदै आवश्यक निर्देशन दिन धितोपत्र बोर्डमा पत्राचार ।
- त्यसपछि आइजिन प्रदान गर्ने सम्बन्धमा बोर्डले स्वीकृति दिनुपर्ने कानूनी व्यवस्था नदेखिएको र यस सम्बन्धमा बोर्डबाट यसअघि पनि कुनै निर्णय भएको नदेखिएकोले अभौतिकीकृत रुपमा दर्ता भएका धितोपत्रलाई आइजिन प्रदान गर्ने सम्बन्धमा प्रचलित व्यवस्था र प्रचलित असल अभ्यासअनुसार तुरुन्त निर्णय लिन सिडिएससीलाई धितोपत्र बोर्डको निर्देशन ।