काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले असार ५ गते ३७औं वार्षिक साधारणसभा बोलाएको छ । जेठ १४ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले कम्पनीको केन्द्रीय कार्यालय लाजिम्पाट, काठमाडौंमा विहान १०ः३० बजे सभा गर्ने निर्णय गरेको हो । सभाले गत आर्थिक वर्ष ०८०/८१ को वार्षिक प्रतिवेदनसहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारणको विषय टुङ्ग्याउनेछ ।
प्रस्तावित लाभांशलाई पनि सभाले अन्तिम स्वीकृति प्रदान गर्नेछ । वैशाख ३१ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत वर्षको मुनाफाबाट हाल कायम चुक्तापूँजीको आधारमा १० प्रतिशत नगद लाभांश र ५ प्रतिशत बोनस शेयर वितरण गर्ने निर्णय गरेको हो । साथै बोनस शेयर कर प्रयोजनका लागि शून्य दशमलव ७९ प्रतिशत नगद लाभांशसमेत वितरण गर्ने निर्णय कम्पनीले गरेको हो । हाल कम्पनीको चुक्तापूँजी ५ अर्ब २१ करोड २१ लाख ३३ हजार रुपैयाँ रहेको छ । सोही पूँजीको आधारमा कम्पनीले नगद र बोनस शेयर गरी कुल १५ दशमलव ७९ प्रतिशत लाभांश वितरण गर्न लागेको हो । यस वर्ष कम्पनीले गत वर्षभन्दा बढी लाभांश वितरण गर्न लागेको हो । गत वर्ष कम्पनीले ४ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि समेत १० प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।
उल्लेखित प्रस्तावहरुसँगै संस्थापकतर्फबाट ३ जना र सर्वसाधारणतर्फबाट २ जना सञ्चालक निर्वाचनको कार्यक्रम पनि सभाका लागि तय भएको छ । साधारणसभा प्रयोजनका लागि कम्पनीले जेठ २२ गते एक दिन बुक क्लोज गर्दैछ । बुक क्लोजको आधारमा जेठ २१ गतेसम्म कायम शेयरधनीहरू मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न योग्य हुनेछन् ।