काठमाडौं । राष्ट्रिय होटल तथा रेष्टुरेन्ट सर्वेक्षण २०८० को नतिजा सार्वजनिक भएको छ । सार्वजनिक नतिजा अनुसार नेपालमा होटल तथा रेष्टुरेन्ट क्षेत्रमा आवद्ध व्यवसायी, होटल मजदूर, आम्दानी, लगानी र त्यसको स्रोत लगायतका विवरण उल्लेख छ । प्रतिवेदनले नेपालमा सञ्चालित तारेदेखि साना होटल, खाजा घरदेखि रिसोर्टसम्मको अध्ययन गरी प्रतिवेदन सार्वजनिक गरेको छ ।
प्रतिवेदन अनुसार नेपालमा हाल सम्म १ लाख ४२ हजार २२३ ओटा साना ठूला होटलजन्य व्यवसाय सञ्चलनमा रहेका छन् । सबैभन्दा बढी बागमतीमा ५२ हजार १२३ ओटा यस्ता व्यवसाय सञ्चालनमा छन् भने सबैभन्दा कम कर्णाली प्रदेशमा ७ हजार ११० होटल,रेष्टुरेन्ट तथा रिसोर्ट जस्ता व्यवसाय सञ्चालनमा छन् ।
प्रतिवेदन अनुसार १ देखि २ जना सम्म सञ्चालक भएका होटल तथा रेष्टुरेन्टजन्य व्यवसाय १ लाख ३ हजार ४०१ ओटा रहेका छन् । ३ देखि ५ जना सम्म सञ्चालक रहेका ३० हजार ९१८ छन भने ६ देखि ९ जना सम्म सञ्चालक भएका होटलको संख्या ५ हजार ३३६ रहेका छन् । १० जना भन्दा बढी सञ्चालक भएका होटल तथा रेष्टुरेन्टहरूको संख्या २ हजार ५६८ मात्रै रहेको छ ।
सार्वजनिक प्रतिवेदन अनुसार नेपालमा दर्ताबिनै सञ्चालन भएका होटल तथा रेष्टुरेन्ट ३६ दशमलव ९ प्रतिशत रहेको छ । भने ६३ दशमलव १ प्रतिशत यस्ता व्यवसाय दर्ता रहेका छन् ।सबैभन्दा बढी दर्ता भएर सञ्चालन भएका होटल तथा रेष्टुरेन्ट लुम्बिनीमा ७८ दशमलव २ प्रतिशत छन् । दर्ता विना सञ्चालन भएका होटलहरू सबैभन्दा धेरै मधेशमा ५३ दशमलव ४ प्रतिशत रहेका छन् ।
नेपालमा सञ्चालित होटल तथा रेष्टुरेन्टका सञ्चालकमा ५६ दशमलव ७ प्रतिशत पुरूष छन् भने ४३ दशमलव ३ प्रतिशत महिला सञ्चालक रहेको तथ्यांकले देखाएको छ । मधेशमा सञ्चालित होटल तथा रेष्टुरेन्टमा सबैभन्दा धेरै ७५ दशमलव ९ प्रतिशत पुरूष सञ्चालक छन् भने गण्डकीमा धेरै महिला सञ्चालक छन् । गण्डकीमा ५१ दशमलव २ प्रतिशत पुरूष सञ्चालक हुँदा ४८ दशमलव ८ प्रतिशत महिला सञ्चालक छन् ।
यो क्षेत्रले १ लाख ६ हजार ४५९ जनालाई प्रत्यक्ष रोजगारी दिएको छ, जसमा बागमती प्रदेशमा सबैभन्दा धेरै ६२ हजार ४०५ जनाले रोजगारी पाएका छन् । कर्णालीमा सबैभन्दा कम १ हजार ६९४ जनाले मात्रै यस क्षेत्रबाट रोजगारी प्राप्त गरेका छन् । तथ्यांकअनुसार यस क्षेत्रमा ३ लाख ८७ हजार ७४७ जना मानिस आवद्ध रहेका छन् । बागमती प्रदेशमा सबैभन्दा धेरै १ लाख ६२ हजार ५८६ जना आवद्द हुँदा कर्णालीमा सबैभन्दा थोरै १५ हजार ६९३ जना व्यक्ति यस क्षेत्रमा आवद्ध छन् ।
नेपालमा सञ्चालित होटलहरूको कोठाको औसत मूल्य (सिंगल बेड) तारे होटलहरूको भन्दा रिसोर्टहरूको कोठाको औसत मूल्य बढी छ । नेपालका तारे होटलका कोठा औसत मूल्य ६ हजार ९१६ छ भने रिसोर्टको औसत मूल्य ७ हजार ४९५ रुपैयाँ छ । सामान्य होटल तथा लजको औसत मूल्य २ हजार ४७ रुपैयाँ छ भने होमस्टेहरूको औसत मूल्य १ हजार ४७६ रहेको सर्वेक्षणले देखाएको छ । डबल तथा त्योभन्दा बढी बेड भएका कोठातर्फ तारे होटलको औसत मूल्य ६ हजार ५६४, सामान्य होटल तथा लजको २ हजार २९ रुपैयाँ छ । त्यस्तै रिसोर्टहरूको औसत मूल्य ८६ हजार ७२९ छ भने होमस्टेहरूको औसत मूल्य १ हजार ५५० छ ।
नेपालमा ऋण लिएर सञ्चालन भएका होटल तथा रेष्टुरेन्ट २८ दशमलव ४ प्रतिशत छन् भने आफ्नै लगानीमा सञ्चालन भएका होटल तथा रेष्टुरेन्ट ७१ दशमलव ६ प्रतिशत छन् । ऋण लिएर सञ्चालन भएका भएका होटल तथा रेष्टुरेन्टमध्ये सुदूरपश्चिममा सबैभन्दा बढी ४१ दशमलव ८ प्रतिशत छन् भने बागमतीमा सबैभन्दा कम ३२ दशमलव ५ प्रतिशत छन् ।
ऋण लिएर सञ्चालन हुनेमा तारे होटल सबैभन्दा धेरै छन् । यस्ता तारे होटल ८० दशमलव २ प्रतिशत छन् । यस्तै ६९ प्रतिशत रिसोर्ट पनि ऋण लिएर स्थापना भएका छन् । होटल तथा रेष्टुरेन्टहरूले बैंकबाट सबैभन्दा धेरै ऋण लिएका छन् भने वित्त कम्पनीबाट सबैभन्दा कम ऋण लिएको देखिन्छ ।