काठमाडौं । राष्ट्रिय योजना आयोगले नीतिगत निर्णय गरेर इन्धनबाट चल्ने सवारीलाई विद्युतीय सवारीले विस्थापित गर्दै जाने योजना बनाएको छ । आयोगले शुरूमा एउटा विद्युतीय कार सञ्चालनमा ल्याएर यसको सङ्केत दिइसकेको छ । आयोगका उपाध्यक्ष डा. स्वर्णिम वाग्ले चढ्ने प्रयोजनका लागि बीआईडी ई–६ नामक उक्त कार खरीद गरेर आयोगले यस्तो सङ्केत दिएको हो ।
चीनको बीवाईडी कम्पनीको आधिकारिक विक्रेता सिमेक्स इन्क प्रालिले बजारमा ल्याएको कारलाई आयोगले खरीद गरेको थियो । काठमाडौं उपत्यकालगायत देशका शहरी क्षेत्र धूलोधूँवाले प्रदूषित हुन थालेपछि विद्युतीय सवारी सञ्चालनको बहस हुँदै आएको छ । सरकारले ठोस नीति र योजना बनाइसकेको परिप्रेक्ष्यमा योजना आयोगका उपाध्यक्ष वाग्लेले नीतिगत व्यवस्था गरेर कार्यान्वयन गर्दा नैतिक दबाब पर्ने भएकाले विद्युतीय सवारी किनेको बताएका छन् । सरकारी कार्यालयले किन्ने दुईओटा सवारीमध्ये एउटा विद्युतीय हुनुपर्ने आधार तय गर्दै जाने तयारी आयोगको छ ।
करीब ५२ लाख रुपैयाँमा किनिएको कार एकपटक चार्ज गरेपछि ४ सय किलोमिटर गुड्न सक्छ । आयोगले खरीद गरेको कारको उद्घाटन कार्यक्रममा सांसद गगन थापाले नीतिगत व्यवस्था गरेर सन् २०२८ सम्म उपत्यकामा विद्युतीय सवारी प्रयोग गर्ने वातावरण तयार गर्नुपर्ने बताएका थिए । उनले अबको संसद्मा पनि यसबारे छलफल तथा बहस हुने धारणा राखेका थिए ।
सरकारले वर्षको करीब डेढ खर्ब रुपैयाँको पेट्रोलियम आयातमा मात्रै खर्चिंदै आएको छ । बढ्दो प्रदूषणका कारण विश्वव्यापी जलवायु परिवर्तनसँगै देखापरेका विभिन्न समस्याले विश्व नै चिन्तित हुन थालेको छ । यसबाट हुने प्रदूषण कम गर्न विभिन्न खोज तथा अनुसन्धानमा ठूला मुलुकले अर्बौं डलर खर्चिसकेका छन् ।
खोज तथा अनुसन्धानकर्ताले आवतजावत र सामान ओसारपसारका लागि विद्युतीय सवारीलाई सिफारिश गर्दै आएका छन् । यही सन्दर्भमा विश्वका ठूला सवारी उत्पादक कम्पनीले पछिल्लो समय विद्युतीय सवारी उत्पादनलाई समेत प्राथमिकता दिन थालेका छन् ।
दुईपाङ्ग्रेदेखि चारपाङ्ग्रे हुँदै ठूला (मास ट्रान्सपोर्ट) बससमेत विद्युतीय उत्पादन हुन थालिसकेका छन् । नेपालमा सन् २००७ मा पहिलोपटक महिन्द्रा कम्पनीको रेभा चारपाङ्ग्रे विद्युतीय सवारीसाधन आएको थियो । भारतीय सवारी उत्पादन कम्पनी महिन्द्रा रेभाले सन् २००१ मा भारतमा विद्युतीय सवारी रेभा सार्वजनिक गरेको थियोे ।
महिन्द्रा इटुओ
महिन्द्राको इटुओ फुल चार्ज भएपछि १ सय २० किलोमिटरसम्म गुड्ने गर्दछ । यो गाडी नेपालमा २६ लाख ५० हजारको हाराहारीमा किन्न सकिन्छ । कारको भन्सार छूट हुने भएकाले सस्तो परेको हो । ५ देखि ६ घण्टामा फुल चार्ज हुने यो कारमा एयर ब्यागलगायतको सेफ्टी फिचर्स राखिएको छ ।
किया ‘सोल ईभी’
कोरियाली अटो कम्पनी कियामा शक्तिशाली सोल ईभीको ब्याट्री प्रयोग गरिएको छ । यो कार एकपटकको पूरा चार्जमा १ सय ८० किलोमिटर गुड्ने दाबी गरिएको छ । यो कारमा लिथियम आयोन पोलिमर ब्याट्री छ, जसको पावर ९० किलोवाट छ । चार्ज स्टेशनको डीसी फाष्ट चार्जरबाट चार्ज गर्दा ३३ मिनेट र एसी फाष्ट चार्जरबाट ४ घण्टा लाग्ने बताइएको छ । यो कारको मूल्य ५६ लाखको हाराहारीमा रहेको छ ।
‘बीवाईडी’ गाडी
चिनियाँ विद्युतीय ब्याट्री गाडी निर्माता कम्पनी बीवाईडीले सन् २०१५ मा सबैभन्दा बढी कार विक्री गरेको थियो । एकपटक चार्ज गरेपछि ४ सय किलोमिटर गुडाउन मिल्ने यो कारको अधिकतम गति प्रतिघण्टा १ सय ४० किलोमिटर रहेको छ । यो गाडीको मूल्य ५८ लाख रुपैयाँ छ ।
रेभा
विद्युतीय गाडी उत्पादनमा अग्रणी भारतको महिन्द्रा रेभा इलेक्ट्रिक भेइकल्स कम्पनीको आधिकारिक विक्रेताको रूपमा अग्नि इन्कर्पोरेटअन्तर्गतको अग्नि इञ्जिनीयरिङ प्रालिले विक्री गर्दै आएको छ ।
रेभाको लागत बढीमा प्रतिकिलोमिटर रू. १ मात्र पर्छ । यसको ब्याट्री फुल चार्ज गर्दा ९ युनिट विद्युत् खपत हुन्छ । त्यसबाट ८० किलोमिटरसम्म यात्रा गर्न सकिन्छ ।
रेभा ३ घण्टामा ८० प्रतिशतभन्दा बढी ब्याट्री चार्ज हुन्छ । प्रतिघण्टा ८० किलोमिटरसम्मको गतिमा गुड्न सक्ने कारलाई ७ सेकेण्डभित्र शून्य किलोमिटरबाट ४० किलोमिटर प्रतिघण्टाको दूरीमा पुर्याउन सकिन्छ ।
ईटुओ प्लस
अत्याधुनिक इलेक्ट्रिक ड्राइभट्रेन प्रविधि प्रयोग भएको ‘ईटूओ प्लस’ एकपटक चार्ज गरेपछि ८० किलोमिटर प्रतिघण्टा १ सय ४० किलोमिटरसम्म चल्छ । यो कारमा चारजना यात्रु बस्न मिल्छ ।
नवीनतम विशेषता भएको यो कार घरमै चार्ज गर्न सकिन्छ । ‘ईटुओ प्लस’को बजार मूल्य ३१ लाख रुपैयाँ छ । यसमा स्मार्टफोन एप्स, इन्फोटेन्मेण्ट सिष्टम, रिजेनेरेटिभ ब्रेकिङ, रिभाइभ, अटोमेटिक म्यासेजिङलगायत विशेषता छन् । सजिलै चार्ज गर्न सकिने, चारओटा ढोका रहेको, आरामदायी सीट भएको यो कार कोरल ब्लू, स्पार्किङ रेड वाइन, आर्सेटिक सिल्भर, सोलिड ह्वाइट रङमा उपलबध छ ।
यसमा अत्याधुनिक सुविधा उपलब्ध छन् । साथै, यो अन्य कारभन्दा सुरक्षित पनि छ । यसका लागि डुअल साइड इम्प्याक्ट बिम, हिल होल्ड असिष्ट, ईएलआर सीटबेल्ट, रेयर डोर चाइल्ड लक, फ्रण्टल कम्पल जोनलगायत प्रणाली जडान गरिएको छ ।
ड्यासबोर्डमा स्टेट अफ दी आर्ट इन्फोटेन्मेण्ट सिष्टम छ । यसमा रेडियोसहित एसडी कार्ड डाटालगायत सुविधा छ । डिजिटल क्लष्टर विद ड्राइभ इन्फर्मेशनलगायत फिचर्स पनि छन् ।
स्मार्टफोन कनेक्टिभिटी, रिभर्स क्यामेरा, महिन्द्रा सिग्नेचर ग्रील, क्रिष्टल एलईडी ल्याम्प र पर्याप्त बूट स्पेशलगायत विशेषताले पनि यो गाडीलाई विशेष बनाएको छ ।
इलेक्ट्रिक पावर स्टेयरिङ रहेको यो गाडी एकपटक चार्ज गरेपछि १ सय ४० किलोमिटर गुड्न सक्छ । यसले ८५ किलोमिटर प्रतिघण्टाको गति दिन सक्छ ।
यो कारमा इलेक्ट्रिक ड्राइभट्रेन टेक्नोलोजी प्रविधि प्रयोग भएको छ । यसको ब्याट्री र इञ्जिन निकै पावरफूल छ । विद्युत्बाट चल्ने हुँदा महिन्द्रा ईटुओ प्लसमा भाइब्रेशन र आवाज आउँदैन । यसमा एसी सुविधा पनि छ । यो कारको मूल्य नेपाली बजारमा ३१ लाख रुपैयाँ तय भएको छ । यसमा न पेट्रोल र डिजेलको जस्तो महँगो सञ्चालन खर्च, न त नियमित मर्मतसम्भारको झन्झट नै हुन्छ । त्यसैले, नयाँ कार झनै लोकप्रिय हुने विश्वास कम्पनीले लिएको छ ।
ईटुओ स्पोर्ट्स
ईटुओको अपग्रेडेड भर्शनका रूपमा ईटुओ स्पोर्ट्स आएको हो । इटुओ स्पोर्ट्स अत्याधुनिक विशेषताले सुसज्जित छ । बाहिरी बनावट पनि उत्तिकै आकर्षक छ । कार प्रिमियम स्टाइलिश देखिन्छ । कार सानो आकारमा छ । तर, यसमा जडित स्मार्ट प्रविधि र सुविधा आकर्षक छन् । यो कारको सञ्चालन खर्चसमेत कम रहेको छ ।
कारमा डुअल एयरब्याग, एबीएस, फाष्ट चार्जिङ, रियर वाइपरलगायत सुविधा छन् । यसको अधिकतम गति १ सय २६ किलोमिटर प्रतिघण्टा छ । त्यस्तै, कारमा लेदर सीट, स्टेरिङ माउण्टेड अडियो कण्ट्रोल, एण्ड्रोइड भर्शनको टचस्क्रीन इन्फोटेन्मेण्ट सिष्टम छन् ।
कारमा थप स्टोरेज एरिया उपलब्ध छ । एण्टी लक ब्रेकिङ सिष्टम, किलेस पुस बट स्टार्ट, टायर प्रेशर मोनिटोरिङ सिष्टम, डे टाइम रनिङ लाइट, चार्ज पोर्ट, रिभर्सिङ क्यामेरा, स्पीड लिमिटर, एयर कण्डिशनरलगायत विशेषता पनि ईटुओ स्पोर्ट्समा छन् ।
ईटुओ स्पोर्ट्स ८ घण्टा चार्ज गरेपछि १ सय २६ किलोमिटर दौडिन्छ । कारमा चारजनाले यात्रा गर्न सक्छन् । यसमा भाइब्रेशनको महसूस हुँदैन भने आवाज पनि आउँदैन । ईटुओ स्पोर्ट्सको शुरुआती मूल्य २६ लाख रुपैयाँ छ । यो कार भारतको बैङग्लोर प्लाण्टमा उत्पादन भएको हो । यसमा यूरोपियन टेक्नोलोजी प्रयोग गरिएको छ । कारमा ३ वर्ष वा ६० हजार किलोमिटरको वारेण्टी प्रदान गरिएको कम्पनीले बताएको छ ।
Newsletter Subscribe to our news letter for daily news directly in your Mail box.
© 2025 New Business Age Ltd. All rights reserved.