काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले समस्याग्रस्त घोषित कर्णाली डेभलपमेन्ट बैंकका बारेमा थप अध्ययन गरी राय सहितको प्रतिवेदन पेस गर्न नेपाल स्टक एक्सचेन्ज (नेप्से)लाई निर्देशन दिएको छ । सेबोनले आज नेप्सेलाई पत्र पठाउँदै यस्तो निर्देशन दिएको हो ।
सेबोनले बैंकको शेयरमा लगानी गर्ने लगानीकर्ताको हितलाई मध्यनजर गरी अर्को व्यवस्था नभएसम्मका लागि तत्काल शेयर कारोबार स्थगन गर्नसमेत निर्देशन दिएको छ ।
कम्पनीलाई एक महीनाअघि मात्र शीघ्र सुधारात्मक कारवाही गरेकोमा सुधार नभएपछि राष्ट्र बैंकले कम्पनीको व्यवस्थापन नियन्त्रणमा लिएको छ । कर्णालीले तोकिए अनुसार पूँजीकोष अनुपात कायम नगरेको, निष्क्रिय कर्जा अनुपात ४० दशमलव ८५ प्रतिशत पुगेको लगायत समस्या देखिएपछि राष्ट्र बैंकले गत मंसिर ११ गते शीघ्र सुधारात्मक कारबाही गरेको थियो । बैंकमा आर्थिक हिनामिनाको आशंका भएको, कमजोर तरलता स्थितिसँगै संस्थाले भुक्तानी गर्नुपर्ने निक्षेप दायित्व पूरा गर्न नसकेको राष्ट्र बैंकले औंल्याएको छ ।
यो बैंक सञ्चालनका लागि राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्था नियमन विभागका उपनिर्देशक टीकाराम खतिवडाको संयोजकत्वमा तीन सदस्यीय व्यवस्थापन समिति गठन गरेको छ । समितिमा वित्तीय संस्था सुपरीपेक्षण विभागका उपनिर्देशक विष्णुकुमार विश्वकर्मा र कानुन महाशाखाका उपनिर्देशक जुगल किशोर कुशवाहा रहेका छन् । व्यवस्थापन समितिले बिहीवारदेखिनै कम्पनी सञ्चालनको जिम्मेवारी सम्हाल्नेछ । उक्त समितिले कानुनको अधीनमा रही सञ्चालक समिति र संस्थाको विशेष साधारणसभाको समेत काम, कर्तव्य र अधिकारको प्रयोग गर्ने अख्तियारी दिइएको छ ।