काठमाडौं (अस) । नेपाल इन्स्योरेन्स सर्भेयर एसोसिएसन (निसा) अध्यक्षमा मोहन पुरुष ढकाल निर्वाचित भएका छन् । एसोसिएसनको १३ औं वार्षिक साधारणसभा तथा आठौं अधिवेशनले ९ सदस्यीय कार्यसमिति चयन गर्दै आगामी दुई वर्षका लागि ढकाललाई अध्यक्षमा निर्विरोध निर्वाचित गरेको हो ।
उपाध्यक्षमा देउकाजी गुरुङ, महासचिवमा पवित्रविक्रम राणा, सचिवमा बुद्घकाजी श्रेष्ठ, कोषाध्यक्षमा दिलमान चन्द निर्वाचित भएका छन् । सहस्यमा शिशिर गैरे, प्रवेश पौडेल, अमरचन्द्र निराला र दीपक रानाभाट चुनिएका छन् ।
ढकालले एसोसिएसनको संस्थापक महासचिव हुँदै धेरै पटकको कार्यसमितिमा उपाध्यक्षको जिम्मेवारी वहन गरिसकेका छन् । नवनिर्वाचित अध्यक्ष ढकालले संस्थालाई नयाँ आयामबाट माथि उठाउन प्रतिबद्घ भएर लाग्ने बताउँदै समग्र बीमा व्यवसायका सरोकारवाला सबै निकायबाट सहकार्य र सहयोगको अपेक्षा गरे ।
कार्यक्रममा एसोसिएसनका सल्लाहकार शिवाश्चन साःख, निवर्तमान अध्यक्ष सूर्यप्रसाद जोशीलगायतले सर्भेयरले फिल्डमा आवश्यक जाँचबुझ गरी क्षति मूल्यांकन गर्दा बहुआयामिक समस्या सामना गर्नुपरिरहेको चर्चा गरे । बीमा कम्पनीले बीमालेख जारी गरेका बखतमा त्यसमा रहेका प्रावधान र बन्देजबार बीमितलाई समयमै अवगत नगराइदिँदा कार्यक्षेत्रमा खटिएका सर्भेयरले समस्या बेहोर्नुपरेको उनीहरूको भनाइ छ ।