काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसँग न्यूजिल्याण्डका उपप्रधानमन्त्री विन्स्टन पिटर्सले राष्ट्रपति भवन शीतलनिवासमा आव (बुधवार) शिष्टाचार भेट गरेका छन् । उनी न्यूजिल्याण्डका परराष्ट्रमन्त्री पनि हुन् । भेटमा राष्ट्रपति पौडेलले नेपाल सन् २०३० सम्ममा मध्यम आय भएको देश बन्ने लक्ष्यमा अघि बढेकाले यो लक्ष्य हासिल गर्न व्यापार, लगानी र विकासमा सहकार्य गर्न पिटर्ससँग आग्रह गर्नुभएको जानकारी राष्ट्रपति पौडेलका प्रेस सल्लाहकार किरण पोखरेलले दिए ।
नेपाल र न्यूजिल्याण्डले कतिपय अन्तरराष्ट्रिय विषयहरूमा समान धारणासहित बहुपक्षीय मञ्चहरूमा सहकार्य गर्दै आएको स्मरण गर्दै राष्ट्रपति पौडेलले आर्थिक विकासमा नेपालको यात्रा दीगो बनाउन व्यापार, लगानी र विकास सहकार्यका सन्दर्भमा न्यूजिल्याण्डबाट नेपालले सहयोगको अपेक्षा गरेको बताउनु भयो ।
राष्ट्रपति पौडेलले दुवै देश जलवायु परिवर्तनबाट प्रभावित भएकाले हिमालय क्षेत्रको जनजीवन बचाउन दुवै देशले मिलेर काम गर्नुपर्ने आग्रह पनि उपप्रधानमन्त्री पिटर्ससँग गर्नुभएको थियो ।
न्यूजिल्याण्डका पर्यटकले नेपाललाई एक पर्यटकीय गन्तव्यको रूपमा पहिचान गरेको उहाँको भनाई थियो । नेपालीहरूको उच्च शिक्षा अध्ययनको आकर्षक गन्तव्य न्यूजिल्याण्ड बनेको उल्लेख गर्दै राष्ट्रपति पौडेलले त्यहाँ बसोवास गर्ने नेपालीको संख्या बढेकाले दुई देशबीच जनस्तरमा सम्बन्ध बलियो बनाउन उनीहरूको समेत महत्त्वपूर्ण भूमिका रहनु प्रसन्नताको विषय भएको बताउनुभयो ।
कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नै दुवै देशबीच निकट मैत्रीपूर्ण द्विपक्षीय सम्बन्ध कायम रहँदै आएको र सम्बन्ध गाढा बनाउन सर एडमन्ड हिलारी र तेन्जिङ नोर्गेले गरेको सगरमाथाको पहिलो कीर्तिमानी आरोहणको ठूलो योगदान रहेको बताउँदै राष्ट्रपति पौडेलले उक्त आरोहणको ७०औँ वार्षिकोत्सवमा दुवै देशले “सगरमाथा–७०” मनाएकोमा प्रसन्नता व्यक्त गरे ।
राष्ट्रपति पौडेलले दुवै देशका बासिन्दाबीच अन्तरक्रिया एवं सम्बन्ध गाढा बनाउन सर एडमन्ड हिलारीले स्थापना गरेको हिमालयन ट्रस्टले खेलेको भूमिकाको प्रशंसा गर्दै यसले जनस्तरमा सम्बन्ध विस्तार गर्न सघाएको बताउनुभयो ।
न्यूजिल्याण्डका उपप्रधानमन्त्री पिटर्सले संयुक्त राष्ट्रसंघको शान्ति स्थापनामा नेपालले गरेको योगदानको मुक्त कण्ठले प्रशंसा गर्दै अन्तरराष्ट्रिय सम्बन्धमा साना देशहरूको भूमिका पनि औधी महत्त्वपूर्ण हुनेमा आफू विश्वस्त रहेको बताए ।
न्यूजिल्याण्डवासीका लागि नेपाल रमणीय देश भएकाले यहाँको भ्रमण गर्न पाउँदा खुशी लागेको उल्लेख गर्दै उपप्रधानमन्त्री पिटर्सले नेपाली विद्यार्थीहरूका लागि छात्रवृत्ति बढाएर नेपालसँग शिक्षा र विकासको सम्बन्ध अझ सुदृढ गर्ने आफ्नो देशको चाहना रहेको बताए । उनले जलवायु परिवर्तनले ल्याएको संकटप्रति न्यूजिल्याण्ड सजग रहेको उल्लेख गर्दै समस्या समाधानका लागि सबै देशको सहभागिता अत्यन्त आवश्यक रहेको बताए ।