काठमाडौं । पिपुल्स हाइड्रोपावर लिमिटेडले ६३ लाख २६ हजार कित्ता शेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत गराएको छ । कम्पनीले बिहीवार संस्थापकतर्फको ३२ लाख २६ हजार कित्ता, आयोजना प्रभावित स्थानीयको ६ लाख ३२ हजार ६०० कित्ता र सामूहिक लगानी कोष र कर्मचारीसहित सर्वसाधारणमा वितरण गरेको २४ लाख ६७ हजार ४०० कित्ता शेयर नेप्सेमा सूचीकृत गराएको हो ।
सूचीकृत भएको दोस्रो कारोबार दिनदेखि कारोबार योग्य हुने यो शेयरका लागि नेप्सेले खुला मूल्य तोकिदिएको छ । नेप्सेले कम्पनीको पहिलो शेयर कारोबारका लागि प्रतिकित्ता न्यूनतम रु. ९४ दशमलव ९६ देखि अधिकतम रु. २८४ दशमलव ८८ सम्मको मूल्य रेञ्ज तोकिदिएको छ ।
नेप्सेले तोकेको मूल्य रेञ्जको आधारमा आइतवार स्पेशल प्रि–ओनिङ सेसनमा कारोबार भए मात्र नियमित सेसनको कारोबार सुरु हुनेछ । कम्पनीको शेयर रजिष्ट्रारमा प्रभु क्यापिटल लिमिटेड रहेको छ ।
कम्पनीले साउन ३१ गतेदेखि भदौ ५ गतेसम्म सर्वसाधारणमा आईपीओ जारी गरेको थियो । कम्पनीले इलाम जिल्लाको इलाम नगरपालिका-१ र ४ मा पुवा खोलाको पानीबाट ४ दशमलव ९६ मेगावाट क्षमताको पुवा-२ जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । उक्त आयोजना निर्माणका लागि कम्पनीको हालको अनुमानित लागत ९५ करोड ६ लाख रुपैयाँभन्दा बढी रहेको छ भने प्रतिमेगावाट लागत १९ करोड १६ लाख रुपैयाँभन्दा बढी हुने अनुमान गरिएको छ ।