काठमाडौं । पियोर इनर्जी लिमिटेडले सर्वसाधारणमा निष्कासन गरेको आईपीओ बाँडफाँट गरेको छ । आईपीओ निष्कासन तथा विक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडले वैशाख ११ गते बिहीबार बिहान आईपीओ बाँडफाँट कार्य सम्पन्न गरेको हो । कम्पनीले चैत्र २८ गतेदेखि आम सर्वसाधारणलाई ११ लाख ९५ हजार २०० कित्ता आईपीओ निष्कासन गरेको थियो । विक्री प्रबन्धकका अनुसार कम्पनीको आईपीओ खरीदका लागि १८ लाख ५४ हजार ४९७ जनाले आवेदन दिएका थिए । कुल आवेदकहरुमध्ये रितपूर्वक आवेदन दिएका १८ लाख ४६ हजार ६६४ जनालाई आईपीओ बाँडफाँटमा सहभागी गराइएको कम्पनीको भनाई छ ।
कुल आवेदकहरुबाट २ करोड १० लाख ५३ हजार ४६० कित्ता शेयर खरीद माग भएको जानकारी समेत कम्पनीले दिएको छ । माग भन्दा बढी आवेदन परेकाले गोलाप्रथाको माध्यमबाट कम्पनीको आईपीओ बाँडफाँट भएको हो । रितपूर्वक आवेदन दिएकामध्येबाट भाग्यमानी १ लाख १९ हजार ५२० जना आवेदकहरुले मात्र १० कित्ताका दरले आईपीओ प्राप्त गरेका छन् । यसअघि कम्पनीले पहिलो चरणको आईपीओ फागुन २० गतेदेखि चैत ५ गतेसम्म निष्कासन गरी चैत १५ गते बाँडफाँट गरिसकेको छ । कम्पनीले आफ्नो जारी पूँजी ८० करोड रुपैयाँको २ प्रतिशत अर्थात् १ करोड ६० लाख रुपैयाँ बराबरको १ लाख ६० हजार कित्ता शेयर आयोजना प्रभावित क्षेत्र बाँके जिल्लाका अयोजना प्रभावित स्थानीय बासिन्दाहरूका लागि र १८ प्रतिशत अर्थात् १४ लाख ४० हजार कित्ता साधारण शेयरको १० प्रतिशत अर्थात् १ लाख ४४ हजार कित्ता वैदेशिक रोजगारमा रहेका नेपालीहरूका लागि बाँडफाँट गरेको हो ।
यी बाहेक पनि कम्पनीले कर्मचारीहरूका लागि २८ हजार ८०० कित्ता र सामूहिक लगानीकोषका लागि ७२ हजार कित्ता आईपीओ समेत बाँडफाँट गरिसकेको छ । सर्वसाधारणमा समेत आईपीओ बाँडफाँटपछि कम्पनीको चुक्तापूँजी ८० करोड रुपैयाँ कायम भएको छ । यो कम्पनी सौर्य उर्जा उत्पादक कम्पनी हो । यस कम्पनीले दुई सौर्य विद्युत आयोजना निर्माण सम्पन्न गरी व्यापारिक उत्पादन गर्दै आएको छ । १० मेगावाट क्षमताको सौर्य पि.भि विद्युत आयोजना ब्लक–१ बाट २०८० पुस ११ गतेदेखि र १० मेगावाट सौर्य पि.भि विद्युत आयोजना ब्लक –२ बाट २०८० साल वैशाख १८ गतेबाट व्यापारिक उत्पादन शुरू गरिएको हो ।