काठमाडौं । पञ्चकन्या समूहअन्तर्गतका चारओटै उद्योग प्रतिष्ठानको सञ्चालन आम्दानी घट्दो छ । समूहका उद्योगको सञ्चालन आम्दानी तीन आर्थिक वर्षमा लगातार घट्दो प्रवृत्तिमा रहेको रेटिङ एजेन्सी केयर रेटिङ नेपालको प्रतिवेदनमा उल्लेख छ ।
नेपालको प्रमुख औद्योगिक घरानामा पर्ने यस समूहअन्तर्गतका पञ्चकन्या स्टिल उद्योग प्रालि, पञ्चकन्या प्लास्टिक उद्योग प्रालि, पञ्चकन्या प्लास्ट प्रालि र पञ्चकन्या रोटोमोल्ड प्रालिबाट हुँदै आएको आम्दानीमा ह्रास आएको छ । केयर रेटिङ नेपालको प्रतिवेदनअनुसार आर्थिक वर्ष २०७८/७९ यता आर्थिक वर्ष २०८०/८१ सम्म समूहका उक्त उद्योगहरूको आम्दानी घटेको छ ।
- आइतवार केयर रेटिङ नेपालले रेटिङ विवरण सार्वजनिक गरेको छ । अल्पकालीन र दीर्घकालीन गरेर कुल ५ अर्ब १४ करोड ३१ लाख रुपैयाँको कर्जाका लागि रेटिङ गरिएको समूहको प्रमुख उद्योग पञ्चकन्या स्टील रहेको छ ।
केयर रेटिङ नेपालको प्रतिवेदनअनुसार आर्थिक वर्ष २०७८/७९ मा यी चारओटै प्रतिष्ठानबाट समूहले कुल १० अर्ब १० करोड रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो । तर, यस्तो आम्दानी गत आर्थिक वर्ष २०८०/८१ मा आइपुग्दा ५ अर्ब ८४ करोड रुपैयाँमा खुम्चिएको छ ।
आइतवार केयर रेटिङ नेपालले रेटिङ विवरण सार्वजनिक गरेको छ । अल्पकालीन र दीर्घकालीन गरेर कुल ५ अर्ब १४ करोड ३१ लाख रुपैयाँको कर्जाका लागि रेटिङ गरिएको समूहको प्रमुख उद्योग पञ्चकन्या स्टील रहेको छ । समूहले उक्त उद्योगका लागि अल्पकालीन ४ अर्ब ४८ करोड र दीर्घकालीन ६५ करोड ९२ लाख रुपैयाँ कर्जाका लागि रेटिङ गराएको छ ।
पञ्चकन्या स्टील प्रालि
रेटिङ गराइएको पञ्चकन्या स्टील प्रालिको सञ्चालन आम्दानी ३ आर्थिक वर्षमा घट्दो प्रवृत्तिमै देखिन्छ, जसअनुसार आर्थिक वर्ष २०७८/७९ मा कुल सञ्चालन आम्दानी ६ अर्ब ७४ करोड, आर्थिक वर्ष २०७९÷८० मा ५ अर्ब ११ करोड र आर्थिक वर्ष २०८०/८१ मा ३ अर्ब ६५ करोड रुपैयाँ रहेको छ ।
न्यून आर्थिक वृद्धिका कारण निर्माण क्षेत्र प्रभावित भएको र सरकारको न्यून पूँजीगत बजेट खर्चका कारण पञ्चकन्या समूहका लागि आर्थिक अवसर चुनौतीपूर्ण रहेको रेटिङमा उल्लेख गरिएको छ ।
समूहको पञ्चकन्या स्टील भैरहवामा रहेको छ । उक्त उद्योगबाट टीएमटी स्टील उत्पादन हुन्छ । उद्योगले वार्षिक उत्पादन क्षमता वार्षिक १ लाख ५० हजार मेट्रिक टन छ । मुलुकभरका प्रमुख शहरी क्षेत्रमा ९० डिलर र सातओटा डिपोबाट स्टील विक्री वितरणको सञ्जाल भएको उक्त समूहले सरकारले पूँजीगत खर्च नबढाए स्टील उद्योगको भविष्य चुनौतीपूर्ण हुने उल्लेख गरेको छ ।
पञ्चकन्या प्लाष्टिक इन्डष्ट्रिज प्रालि
समूहले पञ्चकन्या प्लाष्टिक इन्डष्ट्रिज प्रालिका लागि सोही रेटिङ एजेन्सीबाट कुल १ अर्ब १७ करोड रुपैयाँ कर्जाका लागि रेटिङ गराएको छ । सन् १९८२ मा एचडीइपी पाइप फिटिङ्सका उत्पादनका लागि स्थापना भएको यो प्रतिष्ठानको सञ्चालन आम्दानी पनि घटेको छ । आर्थिक वर्ष २०७८/७९ मा १ अर्ब ३६ करोड रुपैयाँ सञ्चालन आम्दानी गरेको सो प्रतिष्ठानको यस्तो आम्दानी आर्थिक वर्ष २०८०/८१ मा घटेर ८८ करोड रुपैयाँमा खुम्चिएको छ । भैरहवामै रहेको उक्त प्रतिष्ठानको वार्षिक उत्पादन क्षमता ९ हजार मेट्रिक टन रहेको छ ।
पञ्चकन्या प्लाष्ट प्रालि
समूहले १ अर्ब २४ करोड रुपैयाँ कर्जाका लागि पञ्चकन्या प्लाष्ट प्रालिको पनि रेटिङ गराएको छ । यो उद्योगको आम्दानी पनि अघिल्ला आर्थिक वर्षको तुलनामा घटेर गत आर्थिक वर्षमा ६४ करोड रुपैयाँमा खुम्चिएको छ । आर्थिक वर्ष २०७८/७९ मा ९३ करोड ६० लाख आम्दानी गरेको यो उद्योगको सञ्चालन आय घटेर आर्थिक वर्ष २०७९/८० मा ७३ करोड ४० लाख थियो । यो क्षेत्रमा चर्को प्रतिस्पर्धा रहनु पञ्चकन्या प्लाष्टका लागि एक प्रमुख चुनौती रहेको रेटिङ प्रतिवेदनमा उल्लेख छ ।
पञ्चकन्या रोटोमोल्ड प्रालि
यस उद्योगको सञ्चालन आय पनि घट्दो दखिएको छ । आर्थिक वर्ष २०७८/७९ मा १ अर्ब ५ करोड रुपैयाँ सञ्चालय आय भएको यो उद्योगको आय आर्थिक वर्ष २०७९/८० मा ७८ करोड २० लाख रुपैयाँ र आर्थिक वर्ष २०८०/८१ मा ६६ करोड ७० लाखमा झर्यो । कच्चा पदार्थको मूल्यमा बारम्बार आइरहने परिवर्तन, प्लास्टिक पाइप उद्योगमा रहेको चर्को प्रतिस्पर्धा र सरकारले पूँजीगत खर्च गर्न नसक्दा यो र यस्तै अन्य उद्योगलाई चुनौतीपूर्ण रहेको रेटिङ प्रतिवेदनमा उल्लेख छ ।