काठमाडौं । प्रभु इन्स्योरेन्स लिमिटेडले भोलि मंगलवार अर्थात् फागुन २३ गते २७औं वार्षिक साधारण सभा आयोजना गरेको छ ।
सभा कम्पनीको केन्द्रीय कार्यालय प्रभु कम्प्लेक्स तिनकुने, काठमाडौंमा दिनको ११ बजे शुरू हुने कम्पनीले जानकारी दिएको हो । सभामा ६ दशमलव ७० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि शून्य दशमलव ३५ प्रतिशत नगद लाभांशसम्बन्धी प्रस्ताव प्रस्तुत गरिँदै छ ।
त्यस्तै सभामा गत आर्थिक वर्षको वार्षिक प्रतिवेदनउपर छलफल हुनुका साथै चालू आवको लेखापरीक्षणको लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि प्रस्तुत गरिनेछ ।
त्यस्तै सभामा अन्य कुनै कम्पनीसँग मर्जर वा एक्विजिसन गर्न सफल नभएमा भने बिमा प्राधिकरणले तोकेको चुक्तापुँजी पुर्याउन आवश्यक मात्रामा हकप्रद शेयर निष्कासन गर्ने प्रस्तावउपर पनि छलफल हुनेछ ।
कम्पनीले गत असार ३२ गते अजोड इन्स्योरेन्ससँग मर्जरका लागि सम्झौता गरे पनि अन्तिम समयमा रद्द भएको थियो । मर्जर तोडिएपछि प्रभुले हालसम्म अन्य कुनै कम्पनीसँग मर्जरका लागि सम्झौता गरेको छैन ।
कम्पनीले भविष्यमा कुनै निर्जीवन बीमा कम्पनीसँग एक आपसमा गाभ्ने/गाभिने तथा प्राप्ति प्रयोजनको लागि आवश्यक सम्पूर्ण कार्यहरू गर्न सञ्चालक समितिलाई अख्यितारी दिने प्रस्तावउपर पनि छलफल गर्नेछ ।
कम्पनीले साधारण सभा प्रयोजनको लागि फागुन १२ गते बुक क्लोज गरिसकेको छ । यस आधारमा फागुन ११ गतेसम्म कायम शेयरधनीमात्र साधारण सभामा भाग लिन र लाभांश पाउन योग्य छन् ।