अन्य बेला माया अभिव्यक्त गर्न अकमकाउने नेपालीहरू प्रेम दिवसमा भने खुलेर प्रेमका अभिव्यक्ति दिन थालेका छन् । खासगरी जीवनको ४ दशक नाघेकाहरू आफ्ना जीवनसाथीलाई बोलेर भन्दा व्यवहार देखाएर माया गर्ने गर्छन् । बोलेर माया अभिव्यक्त गर्न अप्ठ्यारो मान्नेहरूलाई सामाजिक सञ्जाल माया अभिव्यक्त गर्ने राम्रो थलो बनेको छ ।
पडसरी, भैरहवाका रामहरी कार्कीले आफ्नी जीवनसङ्गिनीलाई म तिमीलाई माया गर्छु भन्न अप्ठ्यारो लागेर गतसाल भ्यालेनटाइन्स डेमा आई लभ यू भने । तर, श्रीमती लक्ष्मीले भनिन्, ‘कस्तो लाज नभएको, छोराछोरीले सुन्लान् ।’ र, त्यसपछि कार्कीलाई प्रेम अभिव्यक्त गर्न गाह्रो भयो । उनले जुक्ति निकाले, यसपालि साथीभाइलाई देखाउन भए पनि बुटवलको फूलबारी पार्कमा गएर तस्वीर खिच्ने र फेसबूकमा अपलोड गर्ने ।
कीर्तिपुर पाँगाका कृष्णकुमार महर्जनको पनि यस्तै समस्या छ । आफ्नो समाजले श्रीमतीलाई कहिले पनि प्रेम अभिव्यक्त गर्ने संस्कार नदिएको कारण उनले सीधै माया गर्छु भन्न सकेका छैनन् । उनले भने, ‘सीधै म माया गर्छु भन्न त गाह्रै छ । त्यसैले, फेसबूकमा मेरी भ्यालेनटाइन भन्दै तस्वीर राख्दै आएको छु ।’
प्रेमीहरू रमाउने र घुम्ने अनि एकअर्कालाई अङ्कमाल गर्दै माया व्यक्त गर्नैपर्ने दिनको रूपमा फेब्रुअरी १४ पर्दै आएको छ । पुराना पुस्ताले भने फेसबूकलगायत सामाजिक सञ्जालमा माया अभिव्यक्त गर्छन् ।
होटल व्यवसायी एवम् प्रसिद्ध लेखक कर्ण शाक्यले भ्यालेनटाइन्स डेका अवसरमा आफ्नी जीवनसङ्गिनीसँगको फोटो पोष्ट गर्दै भनेका छन्, ‘रङ्गीन रोमाण्टिक गुलाफी सुनौलो घाम सबभन्दा बढी कहाँ लाग्छ, थाहा छ ? डाँडापारि । आज हामी बूढाबूढी पनि भ्यालेनटाइन्स डे मनाउन जाँदै छौं ।’
युनियन हाइड्रोपावरका अध्यक्ष किरण मल्लले पनि भ्यालेनटाइन्स डेको शुभकामना दिँदै आफ्नो जोडीको तस्वीर मङ्गलवार नै पोष्ट गर्न भ्याइसकेका छन् । नेपाल विज्ञापन सङ्घका निवर्तमान अध्यक्ष सन्तोष श्रेष्ठले गतवर्ष आफ्नी श्रीमती शीला प्रधानसँग नाचेको तस्वीर राख्दै प्रणय दिवसको शुभकामना दिएका थिए, जुन सामाजिक सञ्जालमा चर्चित भएको थियो ।
प्रेम दिवसलाई अझै उल्लासमय र प्रेममय दिन बनाउन सामाजिक सञ्जालको पनि व्यापक प्रयोग हुने गरेको छ । यसको पुष्टि ट्विटर, फेसबूकजस्ता सामाजिक सञ्जालमा गरिएको प्रेम दिवससम्बन्धी चर्चा र शुभकामना आदानप्रदानबाट पुष्टि हुन्छ ।
आज खासगरी प्रेमीप्रेमिका र श्रीमान्–श्रीमतीहरू एकअर्कालाई उपहार आदानप्रदान गर्नुका साथै विभिन्न पार्कमा गएर समय बिताउँछन् । मन परेको व्यक्तिलाई आफ्नो अव्यक्त प्रेमबारे जानकारी गराउने दिनको रूपमा समेत भ्यालेनटाइन्स डे अर्थात् प्रणय दिवसलाई लिइन्छ ।
यस पर्वले नेपालमा पनि विशेष स्थान पाएको छ । आधुनिक युगतर्फ लम्किरहेको हाम्रो नेपाली समाजका युवायुवती यस दिवसलाई निकै महत्त्वका साथ मनाउने गरेका छन् । यो पर्वलाई युवायुवतीबीच प्रेम अभिव्यक्त गर्ने अवसरको रूपमा मात्रै नभई समग्रमा प्रेममय बनाउनुपर्छ भन्ने गरिन्छ ।
आफ्ना प्रियजनलाई प्रेमीले उपहार दिनु वा शुभकामना व्यक्त गर्नु पनि प्रेम दिवसको मान्यता हो । ‘भ्यालेनटाइन्स डे’मा विभिन्न उपहार, कार्डसहित रातो गुलाफको फूल पनि दिने चलन छ । रातो गुलाफको फूललाई प्रेम र क्षमताको प्रतीक मानिन्छ । यस दिन किनेर दिएको गुलाफको फूलभन्दा आफैले टिपेर वा चोरेर दिएको गुलाफको फूलले विशेष महŒव राख्छ । यसलाई प्रेम प्रस्तावका रूपमा प्रदान गरिन्छ । यदि फूल ग्रहण गरेमा प्रेम प्रस्ताव स्विकारेको पनि मानिन्छ ।
नेपाली समाज नियाल्ने हो भने प्रेम दिवस शुरू हुनुभन्दा अघिदेखि नै हामी नेपालीमा पनि शुभकामना आदानप्रदान गर्ने, प्रेमसम्बन्धी धारणा तथा विचार राख्ने, प्रेम दिवसका विभिन्न सन्दर्भमा लेख, विचारका साथै अभिव्यक्ति प्रस्तुत हुने गर्दथे । विशेषगरी युवायुवतीले गुलाफको फूल, जोडीअङ्कित मूर्ति, कार्ड, चक्लेट तथा अन्य उपहार किन्ने गर्दछन्, जस कारण यस अवसरमा करोडौंको व्यापार हुने हुँदा व्यापारी पनि हर्षित छन् । हुन त प्रेम कुनै विशेष जात, धर्म, समुदाय र वर्गमा भर नपर्ने हुँदा प्रेमको महŒव सबैमा उत्तिकै पाइन्छ ।
प्रेम दिवसलाई विभिन्न मुलुकमा सप्ताहकै रूपमा साताभरि मनाउने गरिन्छ, जसमा सप्ताहको पहिलो दिन रोज डे, दोस्रो दिन प्रपोज डे, तेस्रो दिन चकलेट डे, चौथो दिन टेड्डी डे, पाँचौं दिन प्रमिश डे, छैटौं दिन हग डे, सातौं दिन किस डे र अन्तिम दिन भ्यालेनटाइन्स डेको रूपमा मनाउने गरिन्छ ।
Newsletter Subscribe to our news letter for daily news directly in your Mail box.
© 2025 New Business Age Ltd. All rights reserved.