काठमाडौं । चिलिमे जलविद्युत कम्पनी लिमिटेडले प्रस्तावित लाभांशसहित अन्य विविध प्रस्ताव पारितका लागि पुस २० गते २७औं वार्षिक साधारण सभा बोलाएको छ ।
मङ्सिर २२ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले राष्ट्रिय सभागृह, काठमाडौंमा उक्त दिन बिहान ११ बजे सभा गर्ने निर्णय गरेको हो । सभाले गत आर्थिक वर्ष ०७९/८० को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारणको विषय पनि टुङ्ग्याउनेछ ।
प्रस्तावित कुल १५ प्रतिशत लाभांशलाई पनि सभाले अन्तिम रूप दिनेछ । कम्पनीले हाल कायम चुक्ता पूँजी ७ अर्ब २५ करोड ८१ लाख ७९ हजार रुपैयाँको आधारमा १० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि समेत ५ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको हो ।
कम्पनीले अघिल्ला दुई आर्थिक वर्षपछि कुल १५ प्रतिशत लाभांश वितरण गरेको थियो । पछिल्ला तीन आर्थिक वर्ष कम्पनीले निरन्तर १५ प्रतिशत लाभांश वितरण गरेको हो । यस वर्ष कम्पनीले बोनस शेयरमा जोड दिएको छ । अघिल्ला दुई आर्थिक वर्ष कम्पनीले ७ दशमलव ५ प्रतिशत बोनस शेयर र ७ दशमलव ५ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।
उल्लेखित प्रस्तावसँगै सञ्चालक समितिमा रहने दुई जना स्वतन्त्र सञ्चालक निर्वाचन गर्ने कार्यक्रम सभाका लागि तय भएको छ । त्यस्तै सर्वसाधारण समूहबाट एक जना महिलासहित चार सञ्चालकको निर्वाचनसमेत सभाले गर्नेछ । साधारण सभा प्रयोजनका लागि कम्पनीले पुस ८ गते बुक क्लोज गर्ने तयारी गरेको छ । बुक क्लोजको आधारमा पुस ५ गतेसम्म कायम शेयरधनीहरूले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।