काठमाडौं । राधी विद्युत कम्पनी लिमिटेडले साधारण सभा पुनः बोलाएको छ । यही पुस १८ गते गणपूरक संख्या नपुगेपछि स्थगित भएको साधारण सभा पुस २८ गते हुन लागेको हो । कम्पनीले जारी गरेको सूचनाअनुसार अब बस्ने साधारण सभा ललितपुरको चापागाउँस्थित हिमशिखर पार्ट भेन्युमा हुनेछ ।
साधारण सभामा गत आर्थिक वर्ष ०८०/८१ को मुनाफाबाट कुल ५ प्रतिशत लाभांश वितरण गर्ने लगायतका प्रस्ताव पारित गरिनेछन् । कम्पनीले हाल कायम चुक्तापूँजीको आधारमा ४ दशमल ७५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव २५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ ।
सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्ने बताइएको छ । साथै चालू आर्थिक वर्षको लागि लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारणको विषय पनि सभाले टुङ्ग्याउनेछ । स्वतन्त्र सञ्चालक नियुक्तिको प्रस्ताव पनि सभाले पारित गर्नेछ ।
साधारण सभामा हकप्रद शेयर निष्कासनको प्रस्ताव पनि थप भएको छ । कम्पनीले बोनसपछि कायम चुक्तापूँजीको आधारमा ६९ दशमलव ८९ प्रतिशत हकप्रद शेयर जारी गर्ने प्रस्ताव पनि साधारण सभाका लागि थप गरेको छ ।
साधारण सभा प्रयोजनका लागि कम्पनीले पुस ४ गते एक दिन बुक क्लोज गरिसकेको छ । बुक क्लोजको आधारमा पुस ३ गतेसम्म कायम शेयरधनीहरू मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् । हकप्रद शेयर निष्कासन प्रक्रिया भने वार्षिक साधारण सभाले पारित गरेपछि अघि बढ्नेछ ।