काठमाडौं । सरकारले सवारीसाधनमा पुराना नम्बरप्लेट विस्थापित गरी नेपालभर चल्ने सवारीसाधनमा अत्याधुनिक प्रविधि युक्त ‘इम्बोष्ड नम्बर प्लेट’ जडान गर्ने यातायात व्यवस्था विभागले निर्णय गरेको हो । नयाँ तथा अत्याधुनिक प्रविधिसहितको इम्बोष्ड नम्बरप्लेटले कर तथा राजस्व सङ्कलनमा सहज हुनुका साथै सवारी चोरी हुँदा वा आवश्यकता पर्दा तिनको अवस्थिति पत्ता लगाउनेलगायत काममा प्रत्यक्ष सहयोग पुग्ने ठम्याइ विभागको छ । यसले भन्सार छलेर सवारीसाधन भिœयाउने प्रवृत्ति पनि निरुत्साहित हुने हुँदा राज्यलाई फाइदा पुग्ने अपेक्षा गरिएको छ ।
नम्बरप्लेट राख्न के गर्नुपर्छ ?
‘इम्बोष्ट नम्बरप्लेट’ राख्न कुनै पनि सवारीधनी एकपटक मात्र विभागमा जानुपर्छ । शुरूमा सवारीधनीले ‘इम्बोष्ट नम्बरप्लेट’ जडानका लागि अनलाइन आवेदन भर्नुपर्छ । सवारीको सम्पूर्ण आवश्यक विवरणसहित उक्त आवेदन भरिसकेपछि निर्धारित रकम राष्ट्रिय वाणिज्य बैङ्कको खातामा जम्मा गरेको भौचर नम्बरसहित पोष्ट गर्नुपर्छ ।
त्यसपछि उक्त आवेदन विभागको सिष्टममा जान्छ । उत्पादक कम्पनीले विभागबाट आएको विवरणअनुसार प्लेटमा रहेको आरएफआईडी (रेडियो फ्रिक्वेन्सी आइडेण्टिफिकेशन) चिप्ससहितको स्टिकरमा सबै विवरण राखेर विभागमा पठाउँछ ।
यसरी तयार भएको नम्बरप्लेटमा उल्लेख भएको विवरणमा सवारीधनीको फोन नम्बर पनि हुन्छ । उक्त नम्बरमा प्लेट तयार भएको र जडान गर्न आउन सम्बन्धित धनीलाई म्यासेज जान्छ । त्यसपछि विभाग वा तोकिएको स्थानमा गएर जडान गर्न सकिन्छ ।
शुल्क
इम्बोष्ड नम्बरप्लेट राख्न मोटरसाइकलको २ हजार ५ सय, तीनपाङ्ग्रे सवारीको २९ सय, चारपाङ्ग्रे सवारीको ३ हजार २ सय र हेभी सवारीको ३ हजार ६ सय रुपैयाँ तिर्नुपर्छ । सवारीधनीले फारम भर्नुभन्दा पहिले राष्ट्रिय वाणिज्य बैङ्कमा रहेको विभागको खातामा तोकिएको रकम दाखिला गर्नुपर्छ ।
यसरी जोडिने इम्बोष्ड नम्बरको आयु १० वर्ष हुनेछ । इम्बोष्ड प्रविधिमा पाँच प्रकारका नम्बरप्लेटको मात्र कार्यान्वयन हुनेछ । सरकारी सवारीसाधनमा सेतो प्लेटमा रातो अक्षर तथा अङ्क र निजी सवारीमा सेतो प्लेटमा कालो अक्षर तथा अङ्क हुनेछन् । यस्तै, कूटनीतिक सवारीसाधनका लागि सेतो प्लेटमा नीलो अक्षर तथा अङ्क हुनेछ । राष्ट्रपतिको सवारीका लागि पनि छुट्टै प्लेटको व्यवस्था छ ।
राजस्वमा वृद्धि
अबको ५ वर्षभित्र नेपालमा सबै सवारीसाधनमा इम्बोष्ड नम्बरप्लेट जोडिसक्ने लक्ष्य विभागले लिएको छ । यसका लागि बाध्यात्मक व्यवस्था गरिने भएको छ । अनिवार्य रूपमा सबै सवारीमा राखिने भएकोले यो प्लेटको कार्यान्वयन गरिएपछि करको दायरामा नआएका सवारीलाई विभागमा पुगेर राजस्व बुझाउन बाध्यता पर्नेछ । यसबाट वार्षिक सरकारी कर सङ्कलन बढ्नेछ ।
प्लेटको सहज पहिचान
चरणबद्ध रूपमा नेपालमा सञ्चालित सबै सवारीसाधनमा इम्बोष्ड नम्बरप्लेट जडान गर्ने सरकारी तयारी छ । यसले अहिले नेपालमा प्रचलनमा रहेका विभिन्न किसिम (करीब १४ प्रकार)का नम्बरप्लेट विस्थापित गराई चार किसिमका मात्र रहनेगरी यो प्रणाली लागू गरिनेछ । विस्थापनपश्चात् निजी, व्यावसायिक, सरकारी र कूटनीतिक गरी चार किसिमका प्लेट मात्रै प्रयोगमा आउनेछन् । यसबाट प्लेटको पहिचान सहज हुने अपेक्षा गरिएको छ ।
सवारीको विद्युतीय रेकर्ड
सूचनामूलक र उच्च सुरक्षायुक्त हुने इम्बोष्ड नम्बरप्लेट सवारीको अगाडि र पछाडिको भागमा राखिनेछ । प्लेटभित्र सवारी र सवारीधनीका सबै विवरण राखिने जानकारी दिइएको छ । ती जानकारी प्रहरीसँग हुने हाते मेशिन र विभिन्न ठाउँमा राखिने ठूला मेशिनले रिड गर्न सक्छन् । यो प्रणली लागू भएपछि देशभरका सबै सवारीसाधनको विद्युतीय रेकर्ड सरकारसँग हुनेछ ।
बलियो तथा किफायती
यो नम्बरप्लेटको बाहिरी भागमा सवारीको नम्बर उल्लेख गरिन्छ, जसलाई सबैले सहजै देख्न सक्छन् । प्लेटमा लेखिएका अक्षर बाहिर देखिनेगरी उठेका हुन्छन् । साथै, यी प्लेट अहिले सवारीसाधनमा जडित नम्बरप्लेटको तुलनामा बलियो र किफायती हुनेछ ।
सिङ्गल स्कुपिङ प्रविधि
इम्बोष्ड नम्बर जडानका लागि सिङ्गल स्कुपिङ प्रविधिको प्रयोग गरिन्छ । यसले गर्दा यो नम्बरप्लेट एकपटक जडान गरेपछि निकाल्न मिल्दैन । निकालेमा त्यसलाई काट्नैपर्छ । त्यसैकारण कसैले पनि सवारी चोरी गरेर चलाउन सक्दैन । किनभने, यो प्रविधिको नम्बरप्लेट जडान गर्न यातायात कार्यालय पुग्नैपर्छ । त्यसैले, स्वाभाविक रूपमा यसले सवारीसाधन चोरी हुने समस्या समाधान हुने देखिन्छ । साथै, भन्सार छलेर ल्याइएका सवारी पनि यो प्रणाली लागू भएपछि फन्दामा पर्नेछन् ।
सवारीको विस्तृत जानकारी
इम्बोष्ड नम्बरप्लेट जडान भएका सवारीमा विभागले एउटा चिप्ससहितको स्टिकर टाँस्ने व्यवस्था छ । त्यो स्टिकरमा सवारीसाधनको विस्तृत विवरण राखिन्छन् । यो नम्बरप्लेटमा राखिने प्रविधियुक्त चिप्सभित्र पनि सवारीधनी र सवारीका विभिन्न विवरण हुन्छन्, जसको आधारमा प्रहरीले सवारीको विस्तृत विवरण तुरुन्त लिन सक्छ ।
सवारी जाँचमा टेवा
प्रहरीले हातैमा बोक्ने रिडर मेशिनले इम्बोष्ड नम्बरप्लेट सहजै जाँच गर्न सक्छ । स्मार्ट ब्लुबुक र इम्बोष्ड नम्बर प्रणालीले प्रहरीलाई सवारी चेकजाँचमा सहज हुनेछ भने उपभोक्तालाई पनि राहत मिल्नेछ ।
अवस्थितिको जानकारी
यसैगरी, शहरका विभिन्न भाग तथा राजमार्गमा इम्बोष्ड नम्बरप्लेटलाई रिड गर्ने आरएसआईडी टावरको व्यवस्थासमेत गरिनेछ । यसलाई पार गर्ने जुनसुकै सवारीका नम्बरप्लेट मेशिनले रिड गरेर कम्प्युटरमा स्वचालित रूपमा दर्ता (अटो इण्ट्री) हुन्छ । यसले गर्दा कुन सवारी कुन क्षेत्रमा छ भन्ने थाहा पाउन सकिन्छ । काठमाडौंका मात्र पाँच स्थानमा नम्बरप्लेट रिड गर्ने यस्ता आरएसआईडी टावर राख्ने विभागको योजना छ । विशेषगरी शहरी क्षेत्रका नाका तथा राजमार्गका विभिन्न ठाउँमा यस्ता मेशिनसहितका टावर जडान हुनेछन् ।
अपराध नियन्त्रण
यसैका माध्यमबाट कुन नम्बरको गाडी, कुन समयमा, कुन ठाउँका पुग्यो भन्ने सूचना नम्बरप्लेटकै सहयोगमा प्रहरी र विभागले प्राप्त गर्न सक्छ । यो सुविधाले प्रहरीलाई अपराध नियन्त्रणमा सहयोग गर्नेछ ।
Newsletter Subscribe to our news letter for daily news directly in your Mail box.
© 2025 New Business Age Ltd. All rights reserved.