काठमाडौं । सान्जेन जलविद्युत कम्पनीको आईपीओमा हालसम्म रु. ४० करोड ९० लाख ६९ हजार बराबरको आवेदन परेको छ । सीडीएस क्लियरिङका अनुसार बुधवार १०ः१२ सम्ममा २० हजार २८८ जना आवेदकले ४० लाख ९० हजार ६९० कित्ताका लागि आवेदन दिएका छन् ।
यस आईपीओमा आवेदकले असोज ३० गतेसम्म आवेदन दिन सक्नेछन् । कम्पनीले भदौ ५ गतेदेखि आयोजना प्रभावित स्थानीय बासिन्दाहरूलाई आईपीओ निष्कासन गरेको हो । कम्पनीले रु. १ सय अंकित दरका ३६ लाख ५० हजार कित्ता शेयर निष्कासन गरेको हो ।
यसमा आयोजनाबाट अति प्रभावित क्षेत्र आमाछोदीङमो गाउँपालिका-५ चिलिमे र आयोजना निर्माण गर्ने प्रशारण लाइनबाट प्रभावित आमाछादिङमो गाउँपालिका वडा नं. ४ गोल्जुङका बासिन्दाले आवेदन दिन सक्नेछन् । यस्तै सामान्य प्रभावित आमाछोदिङमो गाउँपालिकाका अन्य वडाहरू १, २, ३ तथा सामान्य प्रभावित बाँकी सम्पूर्ण जिल्लाका सबै बासिन्दाहरूले पनि आवेदन दिन सक्नेछन् । स्थानीयले न्यूनतम १० कित्तादेखि अधिकतम ७०० कित्तासम्म आवेदन दिन सक्नेछन् ।
यो आईपीओमा नागरिक लगानी कोष बिक्री प्रबन्धक रहेको छ । यस्तै सह-निष्कासन तथा विक्री प्रबन्धकमा सनराइज क्यापिटल र एनएमबि क्यापिटल रहेका छन् । यसमा सी-आस्बा प्राप्त बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सकिनेछ ।