काठमाडौं । साञ्जेन जलविद्युत् कम्पनी लिमिटेडले आयोजना प्रभावित स्थानीयलाई विक्री गरेको आईपीओ बाँडफाँट गरेको छ । बिक्री प्रबन्धक नागरिक लगानी कोष तथा सह बिक्री प्रबन्धक सनराइज क्यापिटलद्वारा मंगलवार कम्पनीको आईपीओ स्थानीयमा बाँडफाँट गरिएको हो ।
कम्पनीले भदौ ५ गतेदेखि असोज ३० गतेसम्म आयोजना प्रभावित रसुवा जिल्लाका बासिन्दाहरूको लागि प्रतिशेयर रू. १०० अंकित दरको ३६ लाख ५० हजार कित्ता शेयर विक्री गरेको थियो । तोकिएको अवधिभित्र कुल २८ हजार ६०८ जना आवेदकहरूबाट ५६ लाख ७९ हजार ८७० कित्ताको लागि आवेदन परेको विक्री प्रबन्धकको भनाइ छ । रीतपूर्वक आवेदन दिने आवेदकहरूमा सम्पूर्ण कित्ता शेयर बाँडफाँट गरिएको छ ।
कम्पनीले रसुवा जिल्लाको आयोजना अति प्रभावित आमाछोदिङमो गाउँपालिका-५ (साविक चिलिमे गाविस), प्रभावित वर्ग, आयोजना निर्माण गर्ने प्रसारण लाइनबाट प्रभावित हुने आमाछोदिङमो गाउँपालिका-४ गोजुङ, (गोल्जुङ गाविस) र सामान्य प्रभावित आमाछोदिङमो गाउँपालिकाका वडा १, २ र ३ (साविक गल्ताङ गाविस र हाकु गाविस) तथा न्यून प्रभावित बाँकी सम्पूर्ण जिल्लाबासीहरूका लागि आईपीओ विक्री गरी बाँडफाँट गरेको छ ।
यस कम्पनीमा संस्थापकतर्फ चिलिमे जलविद्युत् कम्पनी लिमिटेड, नेपाल विद्युत् प्राधिकरणसहित रसुवा जिल्लाका तत्कालीन जिल्ला विकास समिति र गाउँविकास समितिहरूको लगानी रहेको छ । कम्पनीले आयोजना प्रभावित स्थानीयमा आईपीओ जारी गर्नुअघि सर्वसाधारणमा आईपीओ निष्कासन गरिसकेको छ ।
कम्पनीमा जारी पूँजीको ३९ दशमलव ३६ प्रतिशत चिलिमे जलविद्युत्, १० दशमलव ३६ प्रतिशत नेपाल विद्युत् प्राधिकरण र १ दशमलव २८ प्रतिशत शेयर रसुवा जिल्लाका तत्कालीन जिल्ला विकास समिति र गाउँ विकास समितिहरूको शेयर स्वामित्व रहेको छ । कर्मचारी सञ्चय कोषमा रकम जम्मा गर्ने सञ्चयकर्ता कर्मचारीहरूको १९ दशमलव ५ प्रतिशत, ऋणदाता संस्थाका कर्मचारीहरूको १ प्रतिशत, संस्थापक शेयरधनी संस्थाका कर्मचारीहरूको ३ दशमलव ५ प्रतिशत शेयर स्वामित्व रहेको छ ।
यीबाहेक कम्पनीले १५ प्रतिशत शेयर सर्वसाधारणमा निष्कासन गरिसकेको छ । आयोजना प्रभावित स्थानीयमा कम्पनीले १० प्रतिशत शेयर विक्री गरेको हो । स्थानीयमा शेयर विक्री तथा बाँडफाँटपछि कम्पनीको चुक्तापूँजी रू. ३ अर्ब ६५ करोड कायम भएको छ ।
यस कम्पनीले १४ दशमलव ४ मेगावाट क्षमताको माथिल्लो साञ्जेन जलविद्युत् आयोजना र ४२ दशमलव ५ मेगावाट क्षमताको साञ्जेन जलविद्युत् आयोजना गरी कुल ५७ दशमलव ३ मेगावाट क्षमताका जलविद्युत् आयोजना निर्माण गरिरहेको छ ।