काठमाडौं । सेन्ट्रल फाईनान्स लिमिटेडले यस वर्ष पनि लाभांश वितरण नगर्ने भएको छ । आर्थिक वर्ष ०७९/८० देखि कम्पनीले लाभांश वितरण गरेको छैन् । त्यस अघिका वर्ष निरन्तर लाभांश वितरण गरेको कम्पनीले पछिल्लो दुई आर्थिक वर्ष भने लगानीकर्ताको हात खाली बनाएको हो । चैत १३ गते साझ बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष ०८०/८१ को मुनाफाबाट कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।
गत वर्षको वार्षिक साधारण सभामा वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु पारित गर्नका लागि नेपाल राष्ट्र बैंक समक्ष स्वीकृति लिने निर्णय पनि सोही बैठकले गरेको छ । यस कम्पनीले विगतका वर्षहरुमा ३४ दशमलव ७४ प्रतिशतसम्म लाभांश वितरण गरेको तथ्याङ्क छ । पछिल्लो पटक आर्थिक वर्ष ०७८/७९ को मुनाफाबाट भने कम्पनीले कर समेत ५ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।