काठमाडौं। काठमाडौं महानगरपालिकाको सम्पदा तथा पर्यटन विभाग र नेपाल हस्तकला महासंघको कला तथा शिल्प परिषद्को संयुक्त आयोजनामा सञ्चालित ‘सेरामिक वस्तु विकास, डिजाइनिङ, रंग संयोजन तथा फिनिसिङ’ विषयक २१ दिने तालिम सम्पन्न भएको छ ।
मंगलवार आयोजना गरिएको प्रशिक्षण समापन तथा हस्तकला प्रदर्शनी कार्यक्रममा तालिमका सहभागीलाई प्रमाणपत्र वितरण गरियो । तालिममा १७ जनाको सहभागिता रहेको थियो ।
हस्तकला महासंघका अध्यक्ष रविन्द्र शाक्यको सभापतित्वमा गहनापोखरीमा सम्पन्न कार्यक्रममा काठमाडौं महानगरकी उपप्रमुख सुनिता डंगोलको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो । कार्यक्रममा तालिम संयोजक माणिकमान शाक्यले प्रशिक्षणको उद्देश्यबारे प्रकाश पारेका थिए ।
कार्यक्रममा काठमाडौं महानगरकी उपप्रमुख डंगोलले शीप सिकेकालाई आर्थिक उपार्जनमा लाग्न आग्रह गरिन् ।
यसैगरी, नेपाल हस्तकला महासंघ उद्योग परिषद्को संयोजन तथा व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रको सहकार्यमा सञ्चालित १५ दिने बाँसजन्य वस्तु उत्पादन तालिम पनि सम्पन्न भएको छ । उक्त तालिम ललितपुरको महालक्ष्मी नगरपालिका वडा नं ९ मा सम्पन्न भएको हो ।
तालिम समापन समारोहमा केन्द्रका कार्यकारी निर्देशक सरद विक्रम राणा प्रमुख अतिथि रहेका थिए भने कार्यक्रममा महासंघका अध्यक्ष रविन्द्र शाक्यको सभापतित्व रहेको थियो।