काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धी अभिमुखीकरण कार्यक्रम सञ्चालन गरेको छ । शुक्रवार काठमाडौंमा कम्पनीको सञ्चालक समिति, संस्थापक लगानीकर्ता, उच्च व्यवस्थापन समितिसहित कम्पनीमा कार्यरत सम्बन्धित सम्पूर्ण कर्मचारीको उपस्थितिमा सो कार्यक्रम आयोजना गरिएको बताइएको छ । काठमाडौं उपत्यका बहिरका प्रदेश प्रमुखका साथै शाखा प्रबन्धकहरूको अनलाइन सहभागितामा सो अभिमुखीकरण कार्यक्रम सम्पन्न गरिएको हो ।
यस कार्यक्रमलाई नेपाल बीमा प्राधिकरणका निर्देशक शाम्भराज लामिछाने र उप निर्देशक पदमप्रसाद सोडारीले सहजीकरण गरेका थिए । उक्त तालीममा ग्राहकको सम्पत्ति र आयको स्रोतको विवरण राख्ने, ग्राहक पहिचान फारमलाई अद्यावधिक राख्ने, गैरकानूनी कमाइ र आतंककारी कार्यबाट संकलित कालो धनलाई बीमाको माध्यमबाट सेतो धन बनाउने कार्यलाई कसरी नियन्त्रण गर्न सकिन्छ भन्ने विषयमा जानकारी दिइएको थियो ।