काठमाडौं । नेपाल राष्ट्र बैंकले कर्णाली डेभलपमेन्ट बैंकलाई समस्याग्रस्त घोषणा गरेसँगै नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले कर्णाली डेभलपमेन्ट बैंकको शेयर कारोबार रोक्का गरेको छ । बुधवार बसेको नेपाल राष्ट्र बैंकको सञ्चालक समितिको बैठकले कम्पनीलाई समस्याग्रस्त घोषणा गरेको हो ।
नेप्सेले बिहीवारदेखि कम्पनीको शेयर कारोबार रोक्का गरिएको सूचना अधिकारी मुराहरी पराजुलीले जानकारी दिए । कम्पनीको दोस्रो बजारमा प्रतिकित्ता अन्तिम शेयर मूल्य ८१० रुपैयाँ कायम भएको थियो । पुस ९ गते मात्र दोस्रो बजारमा कम्पनीको ९२ हजार ३३२ कित्ता शेयर कारोबार भएको थियो ।
कम्पनीलाई एक महीनाअघि मात्र शीघ्र सुधारात्मक कारवाही गरेकोमा सुधार नभएपछि राष्ट्र बैंकले कम्पनीको व्यवस्थापन नियन्त्रणमा लिएको छ । कर्णालीले तोकिएअनुसार पूँजीकोष अनुपात कायम नगरेको, निष्क्रिय कर्जा अनुपात ४० दशमलव ८५ प्रतिशत पुगेको लगायत समस्या देखिएपछि राष्ट्र बैंकले गत मंसिर ११ गते शीघ्र सुधारात्मक कारबाही गरेको थियो । बैंकमा आर्थिक हिनामिनाको आशंका भएको, कमजोर तरलता स्थितिसँगै संस्थाले भुक्तानी गर्नुपर्ने निक्षेप दायित्व पूरा गर्न नसकेको राष्ट्र बैंकले औंल्याएको छ ।
यो बैंक सञ्चालनका लागि राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्था नियमन विभागका उपनिर्देशक टीकाराम खतिवडाको संयोजकत्वमा तीन सदस्यीय व्यवस्थापन समिति गठन गरेको छ । समितिमा वित्तीय संस्था सुपरीपेक्षण विभागका उपनिर्देशक विष्णुकुमार विश्वकर्मा र कानुन महाशाखाका उपनिर्देशक जुगल किशोर कुशवाहा रहेका छन् । व्यवस्थापन समितिले बिहीवारदेखि नै कम्पनी सञ्चालनको जिम्मेवारी सम्हाल्नेछ । उक्त समितिले कानुनको अधीनमा रही सञ्चालक समिति र संस्थाको विशेष साधारणसभाको समेत काम, कर्तव्य र अधिकारको प्रयोग गर्ने अख्तियारी दिइएको छ ।
व्यवस्थापन समूहलाई सर्वसाधारणको हित संरक्षणलाई केन्द्रित गर्दै बचतकर्ताको बचत भुक्तानी र संस्थाको ऋण असुलीलाई प्राथमिकता दिई कार्य गर्ने, संस्थाको ‘ड्यु डिलिगेन्ज अडिट’ सम्पन्न गराउन आवश्यक कार्य गर्ने, संस्थामा भएका वित्तीय अपचलनउपर आवश्यक छानबिन गरी कानुनी कारबाहीको प्रक्रिया अगाडि बढाउने लगायतका अख्तियारी प्रदान गरिएको राष्ट्र बैंकले जानकारी दिएको छ ।