काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले वैशाख ३० गतेदेखि निष्कासन गरेको २७ प्रतिशत हकप्रद शेयर खरीदका लागि आवेदन दिने आज अन्तिम दिन रहेको छ ।
कम्पनीले हाल कायम चुक्तापूँजीका आधारमा २७ प्रतिशत हकप्रद शेयर निष्कासन गरेको हो । कम्पनीले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका १ अर्ब ६ करोड ९६ लाख ३२ हजार रुपैयाँ बराबरको १ करोड ६ लाख ९६ हजार ३२० कित्ता हकप्रद शेयर निष्कासन गरेको हो ।
यो हकप्रद शेयर निष्कासन प्रयोजनका लागि कम्पनीले वैशाख ५ गते बुक क्लोज गरेको थियो । बुक क्लोजको आधारमा वैशाख ४ गतेसम्म कायम शेयरधनीहरूले मात्र हकप्रद शेयर खरीदका लागि आवेदन दिन सक्नेछन् ।
हकप्रद शेयर निष्कासन तथा विक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेड रहेको छ । विक्री प्रबन्धकसँगै कम्पनीको केन्द्रीय तथा क्षेत्रीय कार्यालयहरूबाट आवेदन दिन सक्नेछन् । साथै नेपाल धितोपत्र बोर्डबाट अनुमतिप्राप्त सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका कार्यालयमार्फत आवेदन पेश गर्न सकिने व्यवस्था गरिएको छ ।
हाल कम्पनीको चुक्तापूँजी ३ अर्ब ९६ करोड १६ लाख रुपैयाँ रहेको छ । २७ प्रतिशत हकप्रद शेयर निष्कासन तथा बाँडफाँटपश्चात कम्पनीको चुक्तापूँजी ५ अर्ब ३ करोड १२ लाख ३२ हजार रुपैयाँ कायम हुनेछ ।