फागुन ३, काठमाडौं । बार्हौ दक्षिण एसियाली खेलकुद (साग) प्रतियोगिताको फुटबलतर्फ नेपाल र भारतबीच पुरुष तथा महिला दुबैतर्फका दुई फाइनल खेल सोमवार हुने भएका छन् ।
सदम ।ण्पुरुष फुटबलमा नेपाल र आयोजक भारतबीचको फाइनल गुवाहाटीस्थित इन्दिरा गान्धी एथ्लेटिक रङ्गशालामा नेपाली समयानुसार साँझ ७ः१५ बजे हुनेछ । त्यस्तै, नेपाल र भारतबीचकै महिला फुटबलको फाइनल सिलोङस्थित जवाहरलाल नेहरू रङ्गशालामा दिउँसो ४ः१५ बजे हुनेछ ।
पुरुष फुटबलअन्तरगत शनिबार भएको खेलमा नेपालले माल्दिभ्सलाई ४–३ गोलअन्तरले हराउँदै फाइनलमा पुगेको हो भने भारतले सेमिफाइनलमा बङ्गलादेशलाई ३–० ले पाखा लगाएको थियो ।त्यस्तै, महिलातर्फ दक्षिण एसियाका पाँच टोली (नेपाल, भारत, बङ्गलादेश, माल्दिभ्स र श्रीलङ्का)मध्ये राउण्डरोबिनका आधारमा अङ्कतालिकामा नेपाल पहिलो र भारत दोस्रो हुँदै सिधै फाइनलमा प्रवेश गरेका हुन् ।
लिग चरणमा नेपालले श्रीलङ्कालाई ४–०, बङ्गलादेशलाई ३–०, माल्दिभ्सलाई २–० ले पराजित गरेको थियो भने भारतसँग गोलरहित बराबरी खेलेको थियो । यता भारतले श्रीलङ्कालाई ५–०, बङ्गलादेशलाई ५–१ ले हराएको थियो भने नेपाल र माल्दिभ्ससँगको खेल गोलरहित बराबरीमा टुङ्ग्याएको थियो ।
त्यसैगरी, पुरुष फुटबलमा समूह ‘बी’ मा रहेको नेपालले भुटानलाई ५–० ले हराएको थियो भने बङ्गलादेशसँग १–२ ले नतिजा सुम्पिँदै उपविजेताका रुपमा सेमिफाइनलमा पुगेको थियो । साथै, समूह ‘ए’ को उपविजेता भएर चित्त बुझाएको भारतले माल्दिभ्सलाई ३–२ ले पराजित गरेको थियो भने श्रीलङ्कासँग ०–१ को हार व्यहोरेको थियो । रासस