काठमाडौं। नेपालमा पहिलोपटक बुक बिल्डिङ प्रक्रियाबाट शेयर विक्री गरेको सर्वोत्तम सिमेन्टको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ)को कटअफ मूल्य ४०१ रुपैयाँ कायम भएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले मङ्सिर ११ गते बिहान योग्य संस्थागत लगानीकर्ताबाट प्राप्त भएको गोप्य शिलबन्दी बोलपत्र खोली ४०१ रुपैयाँ कटअफ मूल्य कायम गरेको हो ।
नेप्सेका सूचना अधिकारी मुराहरि पराजुलीले योग्य संस्थागत लगानीकर्ताका लागि निष्कासन गरिएको सम्पूर्ण कित्ता शेयर बाँडफाँट हुने गरी कटअफ मूल्य निर्धारण भएको जानकारी दिए । कटअफ मूल्य निर्धारण गरेपछि सो वा सोभन्दा बढी मूल्यमा कबोल गर्ने सबै आवेदनकर्तालाई माग बमोजिम धितोपत्र बाँडफाँट गरिएको उनले जानकारी दिए । कटअफ मूल्यभन्दा बढी मूल्य कबोल गरी बोलपत्र पेश गर्नेको हकमा बाँडफाँटमा नपरेको रकम फिर्ता गरिने समेत सूचना अधिकारी पराजुलीले बताए ।
सर्वोत्तम सिमेन्टले मङ्सिर ६ गतेदेखि १० गतेसम्म पहिलो चरणमा योग्य संस्थागत लगानीकर्ताका लागि २४ लाख कित्ता शेयर विक्री गरेको थियो । योग्य संस्थागत लगानीकर्तामा जारी भएको शेयरको विक्री मूल्य सीमा प्रतिकित्ता ४०१ रुपैयाँदेखि ६०१ रुपैयाँ ५० पैसा तोकिएको थियो ।
अधिकतम मूल्य ४०६ रुपैयाँ तोकेर बोलपत्र पेश भए पनि कटअफ मूल्य ४०१ कायम गरी शेयर बाँडफाँट गरिएको हो । कुमारी क्यापिटल र यस अन्तर्गतका दुई योजना कुमारी इक्विटी फन्ड र कुमारी धनवृद्धि योजनाले सबैभन्दा बढी प्रतिकित्ता ४०६ रुपैयाँ मूल्यमा बोलपत्र पेश गरेको नेप्सेको भनाइ छ । कुमारी क्यापिटले ५ हजार कित्ता, क्यापिटलअन्तर्गत सञ्चालित कुमारी इक्विटी फन्डले १५ हजार कित्ता र कुमारी धनवृद्धि योजनाले २० हजार कित्ताका लागि आवेदन दिएको नेप्सेले जानकारी दिएको हो । यसपछि नागरिक लगानी कोषले प्रतिकित्ता ४०५ रुपैयाँ कबोल गर्दै ४ लाख कित्ता शेयर खरीदका लागि बोलपत्र पेश गरेको नेप्सेको भनाइ छ । यीबाहेक अन्य आवेदकले प्रतिकित्ता ४०१ रुपैयाँ नै कबोल गरी आवेदन दिएको नेप्सेले जानकारी दिएको छ ।
- सर्वसाधारणले १० प्रतिशत कममा किन्न पाउने
- अधिकतम मूल्य ४०६ रुपैयाँ तोकेर बोलपत्र पेश
- कुमारी क्यापिटल र यस अन्तर्गतका दुई योजनाबाट सबैभन्दा बढी मूल्यमा बोलपत्र
- नागरिक लगानी कोषबाट ४ लाख कित्ता खरीदका लागि आवेदन
नेप्सेका अनुसार ४१ संस्थागत लगानीकर्ताले सर्वोत्तम सिमेन्टको कुल ३६ लाख १९ हजार १९० कित्ता शेयर खरीदका लागि गोप्य शिलबन्दी बोलपत्र पेश गरेका थिए । हाल अनलाइन प्रणाली नभएको अवस्थामा योग्य संस्थागत लगानीकर्ताले गोप्य शिलबन्दी बोलपत्रको माध्यमबाट आवेदन दिएका हुन् ।
कटअफ मूल्यमा आवेदन गर्ने लगानीकर्तालाई मागबमोजिम धितोपत्र बाँडफाँट गर्न नपुगेमा समानुपातिक रूपमा बाँडफाँट गर्नुपर्ने व्यवस्था छ । नेप्सेले बाँडफाँटमा सोही व्यवस्था लागू गरेको छ । बाँडफाँटसम्बन्धी सम्पूर्ण विवरण नेप्सेले मंगलवार आफ्नै वेबसाइटमार्फत सार्वजनिक गर्ने बताएको छ । कम्पनीले जारी पूँजी ४ अर्ब ६५ करोड रुपैयाँको १२ दशमलव ९०३३ प्रतिशतले हुन आउने ६० लाख कित्ता शेयर विक्री गर्न नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको थियो ।
त्यसको ४० प्रतिशतले हुन आउने २४ लाख कित्तायोग्य संस्थागत लगानीकर्तालाई विक्री गर्न कम्पनीले बोर्डबाट स्वीकृति पाएको हो । योग्य संस्थागत लगानीकर्तामा आईपीओ विक्री गरेपछि कम्पनीले सर्वसाधारणलाई ६० प्रतिशत शेयरको निष्कासन तथा विक्री खुला गर्नेछ ।
संस्थागत लगानीकर्तालाई बाँडफाँट गरी बाँकी रहेको ३६ लाख कित्ता शेयर विक्रीका लागि कम्पनीले पुन: बोर्डमा आवेदन दिनुपर्नेछ । सर्वसाधारणका लागि शेयर निष्कासन तथा विक्री खुला गर्दा योग्य संस्थागत लगानीकर्ताका लागि निर्धारण भएको कटअफ मूल्यमा १० प्रतिशत गर्नुपर्नेछ । कम्पनीले योग्य संस्थागत लगानीकर्तालाई धितोपत्र बाँडफाँट गरेको ७ कार्यदिनभित्र बोर्डमा संशोधित विवरणपत्र स्वीकृतिका लागि पेश गर्नुपर्छ । कम्पनीले पेश गरेको विवरणपत्रमा बोर्ड सन्तुष्ट भएमा सात कार्यदिनभित्र विवरणपत्र प्रकाशनका लागि कम्पनीलाई स्वीकृति दिनुपर्ने व्यवस्था छ । बोर्डबाट विवरणपत्र स्वीकृत भएको ७ कार्यदिनभित्र कम्पनीले प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) को आह्वानपत्र सार्वजनिक गर्नुपर्छ । दोस्रो चरणमा विक्री हुने कुल कित्ता शेयरमध्ये ८ लाख कित्ता उद्योग प्रभावित स्थानीय बासिन्दालाई, ३ लाख कित्ता कर्मचारीलाई र २५ लाख कित्ता सर्वसाधारणका लागि जारी हुनेछ । बुक बिल्डिङ विधिमार्फत सार्वजनिक निष्कासनमा आएको शेयर खरीदका लागि सर्वसाधारणले न्यूनतम ५० कित्ता माग गर्नुपर्नेछ । यो विधिबाट न्यूनतम ५० कित्ताका दरले आईपीओ बाँडफाँट हुनेछ । बुक बिल्डिङ विधिबाहेकको शेयर खरीदका लागि न्यूनतम १० कित्ताको लागि आवेदन दिनुपर्ने नीति लागू छ ।