काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंक र आरएसडिसी लघुवित्त वित्तीय संस्था लिमिटेडको लाभांश सुरक्षित गर्ने अन्तिम दिन आज रहेको छ । यी दुई कम्पनीले लाभांश वितरण तथा साधारण सभा प्रयोजनार्थ भोलि बुक क्लोज गर्दैछन् ।
सोही कारण आजसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरूले यी कम्पनीका साधारण सभामा सहभागिता जनाउन तथा यी कम्पनीहरूले वितरण गर्ने लाभांश प्राप्त गर्न योग्य हुनछन् ।
स्ट्याण्डर्ड चार्टर्ड बैंकले मंसिर २४ गते आर्मी अफिसर्स क्लब, भद्रकालीमा ३७ औं वार्षिक साधारण सभा बोलाएको छ । सो सभा उक्त दिन दिउँसो १ बजे शुरु हुनेछ ।
सभाले हाल कायम चुक्ता पूँजीको १९ प्रतिशतका दरले नगद लाभांश (करसहित) वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ ।
त्यस्तै आरएसडिसी लघुवित्तले मंसिर १५ गते वेष्टर्न एसियन होटल प्रा.लि. बुटवल, कालिकानगर मा दशौं वार्षिक साधारण सभा आयोजना गरेको छ ।
सभाले हाल कायम चुक्ता पूँजीको ८ दशमलव ६ प्रतिशतका दरले बोनस शेयर र कर प्रयोजनको लागि शून्य दशमलव ४५२६ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ ।
त्यसैगरी, सभाले शेयर स्वामित्व परिवर्तन गरी संस्थापक समूहको ५१ प्रतिशत र सर्वसाधारण समूहको ४९ प्रतिशत कायम गर्ने, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न र मर्जर तथा एक्विजिसनसम्बन्धी कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरू पनि पारित गर्नेछ ।