logo
सुनसरी–मोरङ औद्योगिक कोरिडोरको लोडसेडिङ ६ घण्टा घट्यो, उद्योगले ३० प्रतिशतसम्म  बढाए उत्पादन
सुनसरी–मोरङ औद्योगिक कोरिडोरको लोडसेडिङ ६ घण्टा घट्यो, उद्योगले ३० प्रतिशतसम्म  बढाए उत्पादन
१९ चैत्र २०८१

विराटनगर । भारतले इन्डियन इनर्जी एक्सचेञ्जमार्फत थप ६०० मेगावाट विद्युत् आपूर्ति दिन थालेपछि पूर्वी नेपालको सुनसरी–मोरङ औद्योगिक कोरिडोरमा लोडसेडिङ ६ घण्टाले घटेको छ । लोडसेडिङ कम भएपछि उद्योगहरूले उत्पादन क्षमता बढाउन थालेका छन् । त्यसैगरी काम नपाएर बिदामा रहेका श्रमिकहरूलाई पुन: काममा फिर्ता बोलाउन थालिएको छ ।

गत चैतमा भारतले प्रोजेक्ट स्टियरिङ कमिटीको निर्णयअनुसार नेपाललाई ३५० मेगावाट विद्युत् आपूर्ति रोक्दा यस क्षेत्रका उद्योग प्रतिष्ठानमा राति १२ घण्टासम्म लोडसेडिङ हुने गरेको थियो । लोडसेडिङकै कारण उद्योगले उत्पादन ७० प्रतिशतसम्म घटाएका थिए । यसबाट धेरै श्रमिक अस्थायी रूपमा बिदा लिन बाध्य भएका थिए ।

विद्युत् आपूर्तिमा आएको सुधारले औद्योगिक क्षेत्रमा सकारात्मक प्रभाव पारेको नेपाल उद्योग परिसंघ कोशीका अध्यक्ष पवनकुमार सारडाले बताए । उनका अनुसार लोडसेडिङ १२ घण्टाबाट ६ घण्टामा झरेपछि उद्योगहरूले ३० प्रतिशतसम्म उत्पादन बढाएका छन् । विद्युत् आपूर्ति नियमित भइरहे थप क्षमतामा उद्योग चल्ने उनको भनाइ छ ।

शनिवारदेखि औद्योगिक कोरिडोरमा विद्युत् आपूर्ति बढेपछि लोडसेडिङ समेत घटेको हो । मोरङ व्यापार संघका अध्यक्ष अनुपम राठीका अनुसार लोडसेडिङ अहिले दैनिक ५ घण्टाभन्दा बढी घटेको छ । एक सातासम्मको विद्युत् आपूर्तिको अवस्था हेरेर मात्र यकिन रूपमा लोडसेडिङ घट्ने समय निर्धारण गर्न सकिने उनले बताए ।

उद्योग संगठन मोरङका अध्यक्ष राकेश सुरानाका अनुसार पछिल्लो समय कोरिडोरमा विद्युत् आपूर्ति बढेपछि लोडसेडिङ दैनिक ५–६ घण्टामा सीमित भएको छ । उनका अनुसार लोडसेडिङ घटेपछि उद्योगहरूको उत्पादनमा वृद्धि हुने र श्रमिकले पूरा समय कामको अवसर पाउने उनले बताए । विद्युत् आपूर्ति नियमित हुन सके डिजेलबाट उत्पादन गर्नुपर्ने अवस्थाको अन्त्य भई उत्पादन लागतसमेत कम हुने उनको भनाइ छ ।

रिलायन्स स्पिनिङ उद्योग जस्ता ठूला उद्योगमा पनि लोडसेडिङ घटेर उत्पादनमा सुधार आएको छ । यस उद्योगमा शनिवार साँझ ६ बजेदेखि ११ बजेसम्म मात्र विद्युत् कटौती भएको थियो । जब कि यसअघि १२ घण्टा विद्युत् कटौती हुने गथ्र्यो । उद्योगका प्रशासन प्रमुख महेश पोखरेलका अनुसार बिदामा रहेका १ हजार ५०० श्रमिक लोडसेडिङ घटेपछि आइतवारदेखि काममा

फर्किएका छन् ।

प्रतिक्रियाहरू

टिप्पणीहरू थप्न कृपया लगइन गर्नुहोस्। लगइन

Newsletter Subscribe to our news letter for daily news directly in your Mail box.
© 2025 New Business Age Ltd. All rights reserved.