जो डरायो, ऊ मर्यो ।’ त्यसैले बाँच्न तपाईं सुतिरहनुस्, तपाईंलाई कुनै खतरा छैन । खतरा त ब्युँझनेलाई मात्र पो महसुस हुन्छ । जो सुतिरहेको हुन्छ, ऊ मरे पनि उसलाई न खतरा लाग्छ, न डर । त्यसैले जीवनको आनन्द ब्युँझनुमा छैन, सुत्नुमै छ है ।
जो ब्युँझन्छ, ऊ डराएरै मर्छ । तर जो सुत्छ, ऊ मज्जाले निदाएर मर्छ । मर्छन् त दुवै, तर फाइदामा सुत्ने नै हुन्छ । कबीरले पनि भनेका छन्, ‘दुखिया दास कबीर, जागे और रोवे, सुखिया सब संसार, खावे और सोवे,’ अर्थात् ‘दुःखी छन् कबीर, जाग्छन् र रुन्छन् । संसार सबै सुखी छ, खाऊ र सुत ।’
देशमा जे भइरहेको छ, त्यसमा हामीले खासै चिन्ता लिनुपर्ने कुरा केही छैन । कुनै कुरा रहेछ भने पनि त्यसमा हाम्रो के लाग्छ र ? ‘मस्त रहुन् मस्तीमा, आगो लागोस् बस्तीमा’ भन्छन् नि ।
देशका लागि निदाउनु हुन्न भन्नुहोला । २००७ सालमा तपाईं जागेर के भो ? १६–१७ सालमा के भयो ? ३५–३६ साल होस् कि ४६ साल वा ६२–६३ नै । जनता जागेको जाग्यै त हो नि । तर, जति जागे पनि आगे चाहिँ नेतामात्रै हो । जनता सुतेको भए भइहाल्थ्यो । त्यसैले टाउको नदुखाउनुस्, बरु मजाले निदाउनुस् ।
हामीकहाँ न त तालिबान छन्, न तालिबानी सोच । केही थोरै तालाबन्दीवाला चाहिँ छन् । तिनले विश्वविद्यालयमा ताला लगाउँछन्, ताला लगाउँदा लगाउँदै भीसी बन्छन् र सिसी पिउँछन् । तिनलाई न बीसी थाहा छ त न डीसी नै । त्यसैले यहाँ सबै प्रेम र भाइचाराको साथ बस्छन् । यहाँ एक दलले अर्को दललाई, एक धर्मले अर्कोे धर्मलाई इज्जत गर्छन्, कोही कसैलाई धम्क्याउँदैन, डराउँदैन । कहिलेकाहीँ अलिअलि ढुंगा–मुढा, आगजनी भन्ने कुरा त सामान्य न हो । त्यसमा त के भो र । किनकि हाम्रोमा त केही घाइते भए पनि र अझ कोही मरे वा मारिए पनि अवस्था तुरुन्त सामान्य बन्छ । हामी सहिष्णुता र समझदारीले भरिएका जनता पो हौं त ।
दुनियाँले हामीलाई बुद्ध जन्मेको देश ‘शान्तिक्षेत्र’ फोकटमा भनेको होइन नि । देशैभरि नै लोकमार्ग किन बन्या छन् भन्नुस् त ? शान्ति र्याली निकाल्नलाई नि । के माइतीघर, के एकान्तकुना, देशैभर चोक–चोकमा लाठी मुँग्री लिएर उभिएका छन् शान्तिका असली चौकीदारहरू, जो आफूलाई नेता नामले चिनाउन मन पराउँछन् । चोर, डाँकाहरू समेत उनीहरूबाट डराउँछन्, त्यसैले बेला–बेलामा उनीहरूलाई फूलको माला लगाइदिएर आफूलाई उनीहरूको ‘गुडबुक’मा राख्न खोज्छन् ।
हो, कुरा क्रान्तिको गरे पनि हामी सदियौंदेखि विश्व–शान्तिका समर्थक हौं । अहिले पनि हौं । तर अमेरिकालाई नै हेरौं त । कहिले युक्रेनमा हात हालेको छ । कहिले लिबियामा धावा बोलेको छ । इराकदेखि इरानसम्म, सिरियादेखि सोमालियासम्म जताततै युद्ध लडेको छ, लडाएको छ । संसारभरि अमेरिकी विचार र सामान भिराएको छ । तर अरू देशका सामान अमेरिकामा अलि विक्री बढ्न थाल्यो कि ह्वात्तै भन्सार शुल्क बढाएको छ । आफ्नो दुनो सोझ्याएको छ, विश्वशान्तिमा बाधा पुर्याएको छ । तर अरूको झमेलामा खुट्टा हालेको नतीजा अहिले के भयो ? नाम पनि गुमायो, दाम पनि । फोकटमा बदनाम भयो ।
कसैको सोच जंगली छ भने होस् न त, हामी त मंगली छौं नि । उनीहरू देशलाई हजार वर्ष पछाडि लैजान चाहन्छन् होला, तर हामी त प्रगतिशील छौं नि । हिजो तालिबानले आफ्नै जनतालाई मार्दै थिए । अहिले पनि सुडानदेखि सिरियासम्म शासकहरूले आफ्नै जनतालाई कुनै न कुनै बहानामा मारिरहेका छन् ।
तर त्यो त उनीहरूको घरेलु मामला हो नि । दाजुभाइको झगडा क्या । त्यो उनीहरूले नै जानून्, उनीहरूले नै बुझून् । हामीलाई त्यसमा के को चासो, के को चिन्ता ? हाम्रो त आफ्नै उखान छ नि, ‘रामको चरा, रामकै खेत, खा है चरी भरी–भरी पेट ।’
अहिले पनि विश्वका कति देशमा लाखौं, करोडौं बालबालिका र महिलाहरूको स्थिति दयनीय छ । भारत लगायत कतिपय देशमा नेपाली चेलीहरूको कथा कसलाई थाहा छैन र ? कतिपय एउटै देशमा पनि कोही महिला मिनिस्कटमा डिस्कोमा झुमिरहेका छन्, कोही बुर्काभित्रै रोइरहेका छन् । तर उनीहरूलाई थाहा छ, ‘जसले हेर्नु छ, उसले बुर्का लगाओेस् कि नलगाओस्, देखिहाल्छ, हेरिहाल्छ ।’
तर यी सब कुराहरूमा हामीलाई के मतलव भो र ? हामीकहाँ त यस्तो केही छैन । यहाँ महिलाहरू जे मन लाग्छ, त्यो लगाउन स्वतन्त्र छन् । जे मन लाग्छ, बोल्न स्वतन्त्र छन् । जहाँ मन लाग्छ, एक्लै हिँड्न पनि स्वतन्त्र छन् र नपत्याए देशैभरि खुलेका क्यासिनो र डिस्कोहरूमा गएर हेर्नुस् । के थाइल्याण्ड, के अमेरिका, त्यहाँभन्दा यहाँ चौखण्ड, अखण्ड रात्रीकालिन भजनकीर्तन चलिरहको हुन्छ । हाम्रो समाज कति धेरै आधुनिक भइसकेछ भन्ने कुराको जिँउदो प्रमाण पनि हो यो । तर लुच्चा, लफंगाहरूले हाम्रा चेलीहरूलाई छुन त के हेर्न पनि सक्दैनन् । कोही गरीब परिवारकी छोरी नै भए पनि उसको बाध्यता र लाचारीको फाइदा लिने यहाँ कोही छैैनन् ।
बलात्कार ? त्यो त अलग मुद्दा हो । यो ३ करोडको देशमा दिनको जम्मा २/४ जना बलात्कार मात्रै भएका तथ्यांक न छन् । तपाईं नै भन्नुस् न, के यो त थोरै नै संख्या होइन र ? यसले न त देशको प्रतिष्ठा घट्छ, न व्यवस्था न त अवस्थालाई लिएर कुनै चिन्ता गर्नुपर्ने आवश्यकता छ ।
भोलिको कुरा त हामीलाई थाहा छैन, झोली रित्तो हुँदै गएको मात्र थाहा छ । चोलीको गीत जति गाए पनि कुनै चेली कसैले घरबाट उठाएर लैजाने गरेको छैन । अनि हाम्रो राम्रो निद्राका लागि अरू के चाहियो त ? तसर्थ, जबसम्म ब्युँझनुपर्ने खाँचो छैन, सुतिरहनुहोस् २४ घण्टा सातै दिन अर्थात् २४/७ । निद्रा नलागे स्लीपिङ ट्याब्लेट खानुस्, जबसम्म पानी नाकसम्म पुग्दैन, तबसम्म कुनै खतरा छैन है !