सन्तोष पुर्कुटी
ताप्लेजुङ । लिम्बू समुदायको परम्परागत खाना याङ्वेनको माग बढ्दै गएको छ । पहाडी क्षेत्रमा पाइने उत्तिस, गुराँस, कटुसलगायतका रुखमा पलाउने एक प्रकारको परजीवी वनस्पति (झ्याउ) याङ्वेनको माग स्वदेशदेखि विदेशसम्म बढेको हो । लिम्बू भाषामा उक्त झ्याउलाई याङ्वेन भनिन्छ ।
पछिल्लो समयमा यसको स्वादमा रमाउन चाहनेको सङ्ख्या बढ्दै गएपछि राजधानी काठमाडौं, पोखरा, इटहरी, धरानजस्ता ठूल्ठूला शहरबाट माग आउन थालेको छ भने बेलायत, हङकङ, सिङ्गापुरमा बसोबास गर्दै आएका लिम्बू जातिले समेत ठूलो परिमाणमा यसको माग गर्ने गरेको ताप्लेजुङ कोशेली घरले जानकारी दिएको छ । कोशेली घरले याङ्वेनलगायतका स्थानीय उत्पादनलाई खरीद गरी विक्री गर्दै आएको छ ।
तोङ्बा, याङ्वेन, किनेमा, चाम्रे, फाँदो अचार, सिगोले, फापरको रोटी लिम्बू जातिको परम्परागत खाना हो । पछिल्लो समयमा उक्त खाना गैरलिम्बू समूदायको रोजाइमा पर्न थालेको छ । लिम्बू संस्कृति र मुन्धुमका जानकार ज्ञानु फुरुम्वो लिम्बूका अनुसार कृषि युग शुरू हुनुपूर्व मानिसले अन्नबालीका बीउबिजन रोप्ने, छर्ने, खाद्यान्न उत्पादन गर्ने चलन बसेको थिएन ।
त्यति बेला शिकार गरेको जीवजन्तुको मासु र रगतसँग रुखमा पलाएको झ्याउ (याङ्वेन) पकाएर खान थालिएको हो ।
याङ्वेनले औषधिको काम गर्ने लिम्बू समूदायको विश्वास छ । केही वर्ष अघिसम्म प्रशस्तै पाइने याङ्वेनको माग बढ्दै जाँदा अहिले यसको अभाव हुन थालेको छ । याङ्वेनलाई आजभोलि प्रतिकिलो ४ हजारदेखि ५ हजारसम्म पर्ने गरेको छ ।
याङ्वेन सङ्कलन गरेर पनि राम्रो आम्दानी लिन थालिएको स्थानीयले बताएका छन् । यसको व्यावसायिक रूपमा सङ्कलन र विक्री वितरण गर्न सके स्थानीयको आम्दानीमा समेत वृद्धि हुन सक्ने कोशेली सञ्चालक ललित गुरुङले बताए । नियमित माग आउन थालेको तर मागअनुसार भने दिन नसकिएको गुरुङको भनाइ छ ।
Newsletter Subscribe to our news letter for daily news directly in your Mail box.
© 2025 New Business Age Ltd. All rights reserved.