काठमाडौं । नेपालका तारे होटल बाहेकका होटल, रिसोर्ट र होमस्टेमा सुरक्षा जोखिम रहेको एक प्रतिवेदनले देखाएको छ ।
राष्ट्रिय तथ्यांक कार्यालयले बुधवार सार्वजनिक गरेको ‘राष्ट्रिय होटेल तथा रेस्टुराँ सर्वेक्षण–२०८०’ प्रतिवेदनले उक्त कुरा औंल्याएको हो ।
प्रतिवेदनले अधिकांश होटल-रिसोर्टहरूमा सुरक्षा जोखिम न्यूनीकरणका लागि आवश्यक व्यवस्था नभएको उल्लेख छ । उक्त प्रतिवेदनले ९०.४ प्रतिशत होटल–रिसोर्टमा २४ सै घन्टा सुरक्षा व्यवस्था नभएको देखाएको छ । यस्तै, ८३.५ प्रतिशतमा अग्नि सुरक्षा उपकरण र ७३.४ प्रतिशत होटल–रिसोर्टमा सीसीटीभी सर्भिलेन्स क्यामेरा नभएको उल्लेख गरेको छ ।
प्रतिवेदनअनुसार सर्वेक्षणमा सहभागी १३ हजार ५१६ होटल–रिसोर्टका प्रतिनिधिमध्ये १२ हजार ७७ ले आफ्नोमा २४ घन्टा सुरक्षा नभएको बताएका छन् । यस्तै, ११ हजार २८५ ले आफ्नोमा अग्नि सुरक्षा नभएको र ९ हजार ९१५ ले सीसीटीभी सर्भिलेन्स क्यामेरा नभएको उल्लेख गरेका छन् ।
तर, होटल व्यवसायी महासंघ नेपालका अध्यक्ष दिनेश चुके भने यो तथ्यांक सही नभएको दाबी गर्छन् । ‘१० कोठाभन्दा बढीका सबै होटलहरूमा कम्तीमा पनि गेटमा सीसीटीभी क्यामेरा छ । अग्नि सुरक्षा यन्त्र पनि सबैले राखेका छन्,’ उनी भन्छन्, ‘यसमा खासै खर्च पनि लाग्दैन ।’
राष्ट्रिय तथ्यांक कार्यालयका निर्देशक राजेश धिताल भने यो तथ्यांक गलत नभएको दाबी गर्छन् । ग्रामीण क्षेत्रका र स-साना होटलमा यी सुविधा (२४ सै घन्टा सुरक्षा, अग्नि सुरक्षा उपकरण र सीसीटीभी क्यामेरा) नरहेको उनको भनाइ छ । ‘पहाडतिर गए ती सुविधा कहाँबाट हुनु । रुम छ, बेड छ, खाना खुवाउनुहुन्छ । ती सुविधा नभएको त्यस्तोमा हो,’ उनले भने ।
काठमाडौंको कतिपय होटलमा यस्तो सुविधा नरहेको उनको भनाइ छ । 'धरहराकै वरिपरि हेर्ने हो भने सबै होटलहरूमा यस्तो सुविधा कहाँ होला र ?' उनले प्रश्न गरे ।
तर, तारे होटलहरूमा भने यस्तो सुविधा रहेको देखिएको उनले बताए । कतिपय ननस्टार होटलहरूमा पनि यस्तो सुविधा रहेको उनले बताए ।
स्रोत : राष्ट्रिय तथ्यांक कार्यालयको प्रतिवेदन