काठमाडौं । पूँजी बजार सुधार र विकासका लागि भन्दै नेपाल धितोपत्र बोर्डमा जारी अनशनको आज ९ दिन पुगेको छ । अनशनकारीका माग पूरा गर्न बोर्डसँग छलफल भइरहेको छ । बोर्डका अध्यक्ष रमेशकुमार हमालले विदेशबाट फर्कनासाथ अनशनकारीलाई भेटेर आन्दोलन फिर्ता लिन आग्रह गरे । तर, सहमति हुन सकेको छैन । मंगलवार हमालले पत्रकार सम्मेलन गरेर बोर्डले गरिरहेका काम र आन्दोलनरत लगानीकर्ताले राखेका मागबारे सञ्चारमाध्यमलाई जानकारी दिए ।
पत्रकार सम्मेलनमा हमालले बोर्डले लगानीकर्ताका माग पहिल्यै सम्बोधन गरिसकेको र केही छुटफुटमात्र बाँकी रहेको भन्ने सन्देश दिए । उनले भने, ‘लगानीकर्ता साथीहरूले राख्नुभएका माग हामीले गर्न खोजेका काममै पर्छन् । यी अधिकांश माग कार्यान्वयनको चरणमा छन् ।’ उनको अभिव्यक्तिले लगानीकर्ताले धितोपत्र बोर्डमा आएर अनशन गर्नुको अर्थ छैन भन्ने सन्देश दिन्छ । बोर्डसँग सम्बन्ध नराख्ने र उसले गर्न नसक्ने माग लिएर उसकै गेटमा धर्ना दिनु उपयुक्त हुँदैन पनि । लगानीकर्ताका माग अध्ययन गर्दा धेरैजसो अर्थ मन्त्रालयसँग सम्बन्धित देखिन्छन् । लगानीकर्ताका कुरा गराइ र व्यवहारले त अहिलेको प्रमुुख माग राष्ट्र बैंकसँग सम्बन्धित जस्तो देखिन्छ । राष्ट्र बैंक, नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) र मन्त्रालयसँग प्रमुख माग भएकाले यो आन्दोलन बोर्डमा गर्नु औचित्यहीन जस्तो देखिएको हो । माग व्यावहारिक र जायज भए पनि सहभागी कतिपय धितोपत्र व्यवसायी र स्वार्थ समूहका अभिव्यक्तिले नै आन्दोलनलाई औचित्यहीन बनाइरहेको छ ।
लगानीकर्ताले र्यालीमा लगाएको नाराले उनीहरूको मुख्य माग बोर्डसँग नभएर अर्थ मन्त्रालय र राष्ट्र बैंकसँग सम्बन्धित भएको पुष्टि गर्छ । उनीहरूको मुख्य माग ४ करोड र १२ करोडको कर्जा सीमा हटाउनुपर्छ भन्ने नै हो । बोर्डका अध्यक्ष हमालले पनि बोर्डसामु राखिएका माग अधिकांश कार्यान्वयन भएको स्पष्ट पारिसकेका छन् । तैपनि लगानीकर्ता बोर्डको गेटबाट हटेका छैनन् ।
धितोपत्र बोर्ड पूँजी बजारको नियामक निकाय हो । अभिभावकसामु आफ्ना माग लिएर जानु बेठीक पनि होइन । पहिल्यै बोर्डका अध्यक्षले अनशन नबस्नु भन्दाभन्दै पनि उनीहरूले कार्यक्रमलाई निरन्तरता दिएका थिए । लोकतन्त्रमा कुनै पनि व्यक्तिले स्वतन्त्रतापूर्वक बाँच्न पाउनुपर्छ, मनमा लागेको कुरा व्यक्त गर्न पनि पाउनुपर्छ ।
तर, अहिलेको आन्दोलन त्यस्तो नभएको कतिपयको भनाइ छ । तैपनि उनीहरूले आफ्नो अधिकार प्रयोग गरेर पूँजी बजार सुधारका लागि भन्दै कार्यक्रम अगाडि बढाएका छन् । उनीहरूले राखेका माग नाजायज पनि छैनन् ।
बोर्ड लगानीकर्ताको मागमा सकारात्मक छ । बोर्ड अध्यक्षले मंगलवारको पत्रकार सम्मेलनमा १९ बुँदे मागमा सातओटा बुँदा बोर्डसँग सम्बद्ध भएको र ती कार्यान्वयनमा गएको बताए । पत्रकार सम्मेलनमा अध्यक्ष हमालले सांकेतिक रूपमा बोर्डसँग लगानीकर्ता आक्रोशित हुनुपर्ने कारण नभएको पनि बताए । यो भनेको धितोपत्र बोर्डभन्दा बढी राष्ट्र बैंक र मन्त्रालयसँग सम्बद्ध माग छन् भन्ने संकेत हो । लगानीकर्ताको माग र अभिव्यक्ति हेर्दा पनि त्यस्तै देखिन्छ । तर, पनि लगानीकर्ता बोर्डमा नै धर्ना दिइरहेका छन् । उनीहरूले राखेका मागको सम्बोधन मन्त्रालय र राष्ट्र बैंकले नै गर्नुपर्छ । बोर्डका अध्यक्ष हमालबाट समन्वय गर्ने आश्वासन आउनु अर्को सकारात्मक पक्ष हो । लगानीकर्ताले यसलाई सकारात्मक रूपमा लिएर अघि बढ्नुपर्छ ।