काठमाडौं । उत्तर–दक्षिण कोरिडोर अबको दुई वर्षमा सम्पन्न गर्ने लक्ष्य लिइए पनि धेरै पुलको निर्माण शुरू हुनै बाँकी छ । कालीगण्डकी कोरिडोरमा १५, कोशी कोरिडोरमा चार र कर्णाली कोरिडोरमा पाँच पुलको निर्माण शुरू हुन बाँकी रहेको हो ।
कोशी कोरिडोरमा दुई पुलको निर्माण सम्पन्न भइसकेको छ भने दुई निर्माणाधीन रहेको आयोजनाले बताएको छ । वरुण नदीमा ७० मिटर लम्बाइको पुल निर्माणाधीन रहेको छ । त्योभन्दा माथि चार पुलको डिजाइन भइसकेको उत्तर–दक्षिण कोरिडोर आयोजनाका प्रमुख श्यामबहादुर खड्काले जानकारी दिए । ‘अझै पनि चार पुल ठेक्कामा जान बाँकी रहेको छ,’ उनले भने ।
कालीगण्डकी कोरिडोरमा हालसम्म पाँच पुलको निर्माण सम्पन्न भइसकेको आयोजनाले बताएको छ । १२ पुल निर्माणाधीन रहेकोमा धेरै सम्पन्न हुने चरणमा रहेको खड्काले जानकारी दिए । निर्माणाधीन पुल ६०/७० मिटर लम्बाइसम्मका रहेको उनले बताए । चालू आर्थिक वर्षमा दुई पुल निर्माणका लागि ठेक्का आह्वान गरिएको उनले जानकारी दिए ।
प्रगतिका हिसाबले सबैभन्दा पछि रहेको कर्णाली कोरिडोरमा पुलसँगै विभिन्न कल्भर्ट पनि निर्माण गर्नुपर्नेछ । सानासाना खोल्सामा कल्भर्ट बनाउनुपर्ने रहेको आयोजना प्रमुख खड्काले बताए । ‘कतै ठेक्का लगाएर निर्माणाधीन छन् भने थप कल्भर्टका लागि ठेक्का आह्वान गरिएको छ,’ उनले भने ।
कर्णाली कोरिडोरमा १४ पुल निर्माण गर्नुपर्नेमा गत असार मसान्तसम्ममा ९ ओटाको ठेक्का लागेको हिल्सा–सिमकोट सडक योजनाका प्रमुख वीरेन्द्रकुमार यादवले बताए । गत आर्थिक वर्ष र त्योभन्दा पहिले निर्माण शुरू भएका पाँचओटा पुल निर्माणाधीन रहेका छन् । ‘अझै चार–पाँचओटा डिजाइनमा जान बाँकी छ,’ उनले भने । रासस