काठमाडौं । दुई कम्पनीले सार्वजनिक निष्कासनमा ल्याएको आईपीओ खरीदका लागि आवेदन दिने अन्तिम दिन आज रहेको छ । जेठ १४ गतेदेखि निष्कासनमा आएको ट्रेड टावर लिमिटेड र जेठ ६ गतेदेखि निष्कासनमा आएको विकास हाइड्रोपावर कम्पनी लिमिटेडको आईपीओ खरीद गर्ने आज अन्तिम दिन रहेको हो ।
ट्रेड टावरले सर्वसाधारणमा ३२ लाख ९६ हजार ५०५ दशमलव १९ कित्ता आईपीओ सार्वजनिक निष्कासनमा ल्याएको हो । सर्वसाधारणमा जारी हुने कुल शेयरमध्ये १० प्रतिशत शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन तथा बाँडफाँट गरी बाँकी शेयर सर्वसाधारणमा निष्कासन गरेको हो ।
ट्रेड टावरले जारी पूँजी ८१ करोड ५६ लाख ९ हजार ७०० रुपैयाँको ४८ दशमलव ६९६ प्रतिशतले हुने ३९ करोड ७१ लाख ६९ हजार ३०० रुपैयाँ बराबरको ३९ लाख ७१ हजार ६९३ कित्ता आईपीओ निष्कासनका लागि नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो । जसमध्ये १० प्रतिशतले हुने ३ लाख ९७ हजार १६९ दशमलव ३० कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीमा, ५ प्रतिशतले हुन आउने १ लाख ९८ हजार ५८४ दशमलव ६५ कित्ता सामूहिक लगानीकोषका लागि र २ प्रतिशतले हुन आउने ७९ हजार ४३३ दशमलव ८६ कित्ता कम्पनीका कर्मचारीका लागि समेत बाँडफाँट गरिसकेको छ ।
यो आईपीओ खरीदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्म माग गर्न सक्ने व्यवस्था छ । कम्पनीको शेयर निष्कासन तथा विक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ । विक्री प्रबन्धकसँगै नेपाल धितोपत्र बोर्डबाट स्वीकृतिप्राप्त सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । साथै मेरो शेयर अनलाइनमार्फत पनि आवेदन दिन पाउने व्यवस्था छ ।
विकास हाइड्रोपावरले भने सर्वसाधारणतर्फको शेयरमध्ये १० प्रतिशत आयोजना प्रभावित स्थानीयका लागि १० प्रतिशत शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन गरेको हो ।
कम्पनीले आफ्नो जारी पूँजीको ४९ प्रतिशत दरले हुन आउने ४४ लाख ५४ हजार ५९६ कित्ता आईपीओ निष्कासनका लागि नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको हो । जसमध्ये १० प्रतिशत दरको ९ लाख ९ हजार १०१ कित्ता आयोजना प्रभावित स्थानीयका लागि र सर्वसाधारणमा जारी हुने ३९ कित्ता आईपीओमध्ये १० प्रतिशत दरले हुन आउने ३ लाख ५४ हजार ५५० कित्ता आईपीओ भने वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन गरिएको हो ।
कम्पनीले आयोजना प्रभावित गोरखा जिल्लाका स्थानीयका लागि जारी गर्ने कुल कित्ता शेयरमध्ये ४० प्रतिशत शेयर धार्चे गाउँपालिकाका वडा नम्बर ४ र ५ का स्थानीयलाई छुट्याइएको छ भने बाँकी रहेको ६० प्रतिशत शेयर धार्चे गाउँपालिकाका १,२,३,६, र ७ का स्थानीयलाई छुट्याइएको छ ।
सम्बन्धित स्थानका स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीले समेत आईपीओ खरीदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म माग गर्न सक्नेछन् भने वैदेशिक रोजगारीमा रहेका नेपालीले पनि न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म माग गर्दै जेठ २० गतेसम्म आवेदन दिन सक्नेछन् ।
विकास हाइड्रोपावरको आईपीओ निष्कासन तथा विक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ । विक्री प्रबन्धकसँगै सम्बन्धित कम्पनीको कार्यालय र सम्पूर्ण आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थामार्फत आवेदन दिन सकिनेछ । साथै मेरो शेयर अनलाइन समेत आवेदनका लागि प्रयोग गर्न सकिनेछ ।