काठमाडौं । ट्रेड टावर लिमिटेडको आईपीओ खरीदका लागि २१ लाख ६९ हजार ८९१ जनाको आवेदन परेको छ । सिडिएस एण्ड क्लियरिङ लिमिटेड (सिडिएससी) का अनुसार अन्तिम दिन जेठ २० गतेसम्म यी आवेदकहरुबाट २ करोड ५७ लाख ७९ हजार ७९० कित्ता शेयर खरीद माग भएको हो । जुन मागभन्दा करीब ८ गुणा बढी आवेदन हो ।
ट्रेड टावरले जेठ १४ गतेदेखि थप सर्वसाधारणमा ३२ लाख ९६ हजार ५०५ दशमलव १९ कित्ता आईपीओ सार्वजनिक निष्कासनमा ल्याएको हो । ट्रेड टावरले जारी पूँजी ८१ करोड ५६ लाख ९ हजार ७०० रुपैयाँको ४८ दशमलव ६९६ प्रतिशतले हुने ३९ करोड ७१ लाख ६९ हजार ३०० रुपैयाँ बराबरको ३९ लाख ७१ हजार ६९३ कित्ता आईपीओ निष्कासनका लागि नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो ।
जसमध्ये १० प्रतिशतले हुने ३ लाख ९७ हजार १६९ दशमलव ३० कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीलाई, ५ प्रतिशतले हुन आउने १ लाख ९८ हजार ५८४ दशमलव ६५ कित्ता सामूहिक लगानी कोषका लागि र २ प्रतिशतले हुन आउने ७९ हजार ४३३ दशमलव ८६ कित्ता कम्पनीका कर्मचारीका लागि समेत बाँडफाँट गरिसकेको छ । कम्पनीको शेयर निष्कासन तथा विक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ ।