काठमाडौं । पछिल्ला २ साता भारतीय बजारमा प्याजको मूल्य ह्वात्तै बढेपछि यसको प्रभाव नेपालको बजारमा देखिने सम्भावना बढेको छ । नेपालमा खपत हुने अधिकांश प्याज भारतबाटै आयात हुने भएकाले नेपालमा पनि भाउ बढ्ने सरकारी अधिकारी तथा व्यापारीले बताएका छन् ।
- भारतमा विगत दुई सातामा प्याजको मूल्य २० प्रतिशतले बढेको खबर छ । त्यसको असर नेपालको बजारमा देखिन लागेको हो ।
भारतीय सञ्चारमाध्यम ‘दि इकोनोमिक टाइम्स’ले उल्लेख गरेअनुसार भारतमा केही दिनयता भएको भारी वर्षाका कारण बालीनालीमा क्षति पुगेकाले प्याजको मूल्य विगत २ सातामा करीब २० प्रतिशतले बढेको छ । प्याज उत्पादन र भण्डारण बढे पनि महँगो भएको छ । भारत सरकारले प्याज खरीद गर्ने बेला आएकाले पनि मागमा वृद्धि भई मूल्य अझै केही बढ्ने सम्भावना रहेको दि इकोनोमिक टाइम्सले बताएको छ ।
मे महीनामा मध्य र दक्षिणी भारतको ठूलो भागमा परेको बेमौसमी र मनसुनपूर्वको वर्षाको मारले प्याजमा ठूलो क्षति पु¥याएको भारतीय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् । यो मूल्यवृद्धिको असर नेपाली बजारमा समेत पर्ने नेपाली व्यापारी बताउँछन् । नेपालमा भएको उत्पादनले वर्षभरिको बजार माग धान्न नसक्ने हुँदा नेपाली व्यापारीले भारत, चीन, इन्डोनेशिया र बेलायतबाट समेत प्याज आयात गर्ने गरेका छन् ।
त्यसमध्ये व्यापारीले भारतबाटै सबैभन्दा धेरै प्याज आयात गर्छन् । ‘स्रोत मुलुकमै मूल्य वृद्धि भएपछि नेपालमा मूल्य नबढ्ने कुरै भएन । उता मूल्य बढेपछि हामीले पनि बढेको मूल्यमै खरीद गरेर आयात गरिरहेका छौं,’ आलु–प्याज व्यवसायी संघका महासचिव प्रकाश गजुरेलले आर्थिक अभियानसँग भने ।
भारतमा केही साताअघिसम्म प्याजको मूल्य कम भएका बेला अन्य मुलुकहरूले ठूलो परिमाणमा आयात गरेर स्टक गरेकाले पनि मूल्यवृद्धि भएको भारतीय व्यापारीले बताउने गरेको गजुरेलको भनाइ छ ।
भारतीय व्यवसायीले अबको केही दिनमै प्याजको मूल्य भारू ३८ देखि ४० सम्म पुग्ने जानकारी दिएको उनले बताए । दुई साताअघिसम्म भारतीय बजारमा प्रतिकिलो प्याजको मूल्य भारू १३ सम्म रहेको उनले जानकारी गराए ।
भारतमा भाउ बढेसँगै नेपालमा पनि केही दिनयता प्याजको मूल्य सामान्य बढेको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बताएको छ । कालीमाटीको दैनिक मूल्य सूचीअनुसार जेठ १४ गते प्रतिकिलो औसत थोक मूल्य ३६ रुपैयाँ रहेको प्याजको मूल्य जेठ २० गते ३९ रुपैयाँ किलो पुगेको छ ।
मूल्यको हिसाबले यो सामान्य वृद्धि भए पनि कालीमाटीमा प्याज भित्रिने क्रम भने केही दिनयता घटेको छ । समितिको अभिलेखअनुसार जेठ १८ मा २३० मेट्रिक टन भारतीय प्याज कालीमाटी भित्रिएकोमा जेठ १९ मा १३९ मेट्रिक टन मात्रै भित्रिएको देखिएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयको तथ्यांकअनुसार नेपालका ३० भन्दा धेरै जिल्लामा करीब २० हजार हेक्टर जग्गामा प्याज खेती हुने गरेको छ । त्यसबाट साढे २ लाख मेट्रिक टन हाराहारी प्याज उत्पादन हुने गरेको छ ।
भन्सार विभागको तथ्यांकअनुसार चालू आर्थिक वर्ष (आव) को १० महीनामा नेपालमा ३ अर्ब ७२ करोड रुपैयाँ बराबरको ८५ हजार ७८८ मेट्रिक टन प्याज आयात भएको छ । यसमध्ये भारतबाट ३ अर्ब ६६ करोड रुपैयाँको प्याज आयात भएको विभागको तथ्यांकले देखाउँछ ।
यो आयात अघिल्लो आवभरिको भन्दा पनि धेरै हो । गत वर्ष नेपालमा २ अर्ब २४ करोड ३६ लाख ५३ हजार रुपैयाँको ५२ हजार १०० मेट्रिक टन प्याज आयात भएको विभागको तथ्यांक छ ।
सरकारले मुलुकलाई प्याजमा आत्मनिर्भर बनाउने उद्देश्यले आव २०६४/६५ मा ५० करोड रुपैयाँ लगानीमा झापा, सिराहा, सप्तरी, धनुषा, बारा, पर्सा, रुपन्देहीलगायत जिल्लामा प्याज मिशन कार्यक्रम शुरू गरेको थियो ।
तर, उत्पादन सामग्री खरीद र वितरणमा भएको अनियमितताका कारण उक्त कार्यक्रम सफल हुन सकेन । त्यसपछि आव २०७६/७७ देखि ४ वर्षसम्म संघमातहत रहने गरी आलु र प्याज मिसन कार्यक्रम सञ्चालन गर्ने योजना ल्याइयो । उक्त योजना पनि कागजमै सीमित हुन पुग्यो । पटकपटकको योजना विफल भएपछि नेपालले आयातकै भरमा काम चलाउनुपरेको मन्त्रालयका अधिकारी बताउँछन् ।