काठमाडौं । उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले उपलब्ध स्रोतले विकास निर्माणको आवश्यकता पूरा नहुने देखिएकाले आगामी आर्थिक वर्षको बजेटले वैकल्पिक वित्त कोषको पनि प्रबन्ध गरेको बताएका छन् ।
बुधवार नेपाल पूर्वाधार पत्रकार समाज र नेपाल निर्माण व्यवसायी महासंघले संयुक्तरूपमा आयोजना गरेको आगामी आर्थिक वर्षको बजेटमा पूर्वाधार क्षेत्र र कार्यान्वयन विषयक छलफलमा बोल्दै उनले यस्तो बताएका हुन् ।
उपलब्ध स्रोतले विकास निर्माणको आवश्यकता पूरा नहुने देखिएकाले आगामी आर्थिक वर्षको बजेटले वैकल्पिक वित्त कोषको पनि प्रबन्ध गरेको उनको भनाइ छ।
लागत र प्रतिफलको सन्तुलन मिलाएर निजी क्षेत्रलाई लगानी गर्न यो बजेटले ढोका खोलेको उनले बताए। त्यसले स्रोत व्यवस्थापनको चुनौती समेत संबोधन गर्ने अपेक्षा रहेको उनको भनाइ छ।
‘स्रोतको अभाव हुने विषय लामो समयदेखि कुरा उठ्ने गरेका छन्। यो बजेटबाट नयाँ प्रबन्ध गरेका छौं । ट्रेजरीबाट मात्रै विकासका पूर्वाधारका काम पुरा गर्ने अवस्थामा त्यति सक्षम छैनौं,’ उनले भने, ‘राजस्वले सार्वजनिक खर्च मात्रै धान्न सक्ने अवस्थामा छौं। त्यसैले वैकल्पिक विकास वित्त कोष खडा गर्ने तयारीमा छौं । यसले स्वदेश र विदेशको निजी क्षेत्रलाई पूर्वाधार विकासमा लगानी गर्न आकार्षित गर्नेछौं।’
कुनै पनि विषय शतप्रतिशत नहुने भएकाले आगामी आर्थिक बजेटमा पनि केही कमीकमजोरी भएको हुनसक्ने बताएका छन् ।
‘सुनमा पनि ९९९ लेखिएको हुन्छ। ताकि शतप्रतिशत कुरा केहीमा हुँदैन भन्ने कुरा देखाउन यस्तो नम्बरिङ गरिएको हुन्छ,’ उनले भने, ‘यो बजेटमा पनि केही कमीकमजोरी छन्। पूर्वाधार निर्माणबाट जसले आश राखेका थिए, उहाँहरूलगायत सबैका लागि यो बजेटमार्फत सुधारको प्रयास गर्ने जमर्को गरेका छौं ।’
ठूला राजमार्गमा बजेट पर्याप्त नभएको स्वीकार गर्दै उनले ३ करोड रुपैयाँभन्दा कम लागतका आयोजनाहरू नराख्ने अभ्यासको शुरुवात गरिएको बताए ।
त्यसले आगामी वर्षहरूमा आउने बजेटमा असल अभ्यास बसाल्न सहज हुने उनको भनाइ छ । ‘साना आयोजना कटौतीका आयोजनाहरूमा सिर्जित दायित्वको पनि व्यवस्थापन यसले गरेको छ,’ उनले भने।
दिगो पूर्वाधार निर्माणको लागि कंक्रिट, सिमेन्ट, रोडा बनाउने विषय अगाडि बढाएको उनले बताए ।
सार्वजनिक खरिद नियमावलीको विषयमा १४ औं संशोधनले केही संबोधन गरे पनि अझै केही विषयहरू संबोधन गर्न बाकी रहेको उनको भनाइ छ। उनले भने, ‘हामी यसका लागि खुलारूपमा छलफल गरेर संशोधनको कुरा अगाडि बढाउछौं।’
उनले ठेक्का लाग्ने समयावधि तोकिने तर निर्माण सामग्रीको अभावले काम ढिला हुने गरेको बताए । तर आगामी दिनमा त्यस्तो अवस्था हुन नदिने उनको भनाइ छ।