काठमाडौं । सिमेन्ट उत्पादकहरूले मिलेर (कार्टेलिङ गरी) सिमेन्टको मूल्य बढाएको आरोप लागिरहेको बेला सरकारले नयाँ आर्थिक विधेयकमार्फत अन्तःशुल्क दर परिवर्तन गरेपछि सिमेन्टको भाउ थप बढेको छ । यसले सार्वजनिक निर्माण र व्यक्तिगत आवास तथा भवन निर्माणको लागत बढाउनेछ ।
सरकारले सिमेन्टमा प्रतिबोरा ११ रुपैयाँ अन्तःशुल्क लिइरहेकोमा आर्थिक विधेयक, २०८२ मार्फत उक्त दर प्रतिबोरा मूल्यको ५ प्रतिशत कायम गरेको छ । यससँगै सिमेन्ट उत्पादकले प्रतिबोरा २० रुपैयाँदेखि २२ रुपैयाँसम्म मूल्य बढाएका छन् ।
- यसअघि बोरामा ११ रुपैयाँ अन्तःशुल्क लाग्ने गरेकोमा अब मूल्यको ५ प्रतिशत
- सार्वजनिक पूर्वाधार निर्माण तीव्र भएका बेला बढेको करले निर्माण लागत बढ्ने
- यसबाट सर्वसाधारणको आवास निर्माण लागत पनि बढ्ने
- कार्टेलिङ गरी मूल्य बढाएको आरोप केही महीनादेखि नै थियो सिमेन्ट उत्पादकमाथि
सिमेन्ट उद्योग घाटामा रहेको, उत्पादन क्षमताभन्दा पनि निकै कममा उद्योगहरू सञ्चालन भइरहेको, बजारमा माग नबढ्दा चर्को घाटा बेहोर्नुपरेको जस्ता तर्क गर्दै सिमेन्ट उत्पादकले गएको मङ्सिर/पुसदेखि नै मूल्य बढाउँदै आएका थिए । अहिले पूर्वाधार निर्माणको मुख्य सिजनले गर्दा सिमेन्टको माग उच्च रहेको र यही बेला सरकारले औपचारिक रूपमा अन्तःशुल्क बढ्ने गरी कानून संशोधन गरेपछि यसको मूल्य बढेको हो ।
सिमेन्ट उत्पादकहरूले माग घटेको, उत्पादन लागतसमेत विक्रीबाट उठाउन नसकेको जस्ता तर्क गर्दै मूल्य बढाउँदै आएका थिए । नेपाल सिमेन्ट उत्पादक संघका अध्यक्ष रघुनन्दन मारूले सरकारले प्रतिबोरा ११ रुपैयाँको सट्टा मूल्यको ५ प्रतिशत अन्तःशुल्क कायम गरेसँगै सिमेन्टको मूल्य बढेको बताए । उनका अनुसार नयाँ अन्तःशुल्क दरले गर्दा सिमेन्टको मूल्य प्रतिबोरा २० देखि २२ रुपैयाँसम्म बढेको छ ।
‘जेठ १५ साँझसम्म उत्पादन भई भण्डारण भइसकेको सिमेन्टमा भने अन्तःशुल्क लागू भएर तय भएको मूल्य जोडिँदैन,’ मारूले भने ।
‘पुरानो स्टकले बढीमा १५ दिनजति थेग्न सक्छ, त्योभन्दा बढी समय उत्पादन मितिअनुसार सिमेन्टको लाइफ नहुन सक्छ । नयाँ उत्पादनमा भने यो मूल्य जोडिन्छ ।’
अहिले निर्माणको सिजन भएको हुँदा असार १५ गतेसम्म निर्माणको धेरै काम हुने र माग पनि उच्च रहेको उनको भनाइ छ । साउनदेखि दशैं, तिहारसम्मको समयलाई भने पूर्वाधार निर्माणको अफसिजन मानिन्छ । सिमेन्ट उत्पादक ध्रुव थापाले सिमेन्टको मूल्य बढिसकेको जानकारी दिए । सरकारले अन्तःशुल्क बढाएसँगै सिमेन्टको मूल्य प्रतिबोरा २० देखि २५ रुपैयाँसम्म बढेको जानकारी दिए । ‘अन्तःशुल्क घोषणा हुनुअघि नै सिमेन्टको मूल्य बढिसकेको थियो,’ थापाले भने । ‘यस विषयमा कुराकानी नै भएको थिएन, सरकारले अन्तःशुल्क बढाएपछि उपभोक्तासम्म त्यसको प्रभाव पर्छ नै ।’ नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले निर्माण सामग्रीको मूल्य बढ्नेबित्तिकै निर्माणमा थप व्ययभार पर्ने बताए । ‘सिमेन्ट उत्पादकहरूले कार्टेल गरेर मूल्य बढाइरहेका थिए,’ उनले भने‚ ‘त्यही बेला अन्तःशुल्कको दर बढ्यो ।’