काठमाडौं । सुपरस्टोर हुँदै होटेललगायत क्षेत्रमा लगानी गरेको भाटभटेनी समूह अब तयारी पोशाक (गार्मेन्ट) क्षेत्रमा पनि प्रवेश गरेको छ ।
भाटभटेनी समूहका संस्थापक मीनबहादुर गुरुङ र लिटिल एञ्जेल्स समूहबाट नेपाली कांग्रेसका नेता उमेश श्रेष्ठसहितको लगानीमा रूपन्देहीको भैरहवा विशेष आर्थिक क्षेत्र (सेज)मा गार्मेन्ट उद्योग सञ्चालन हुन लागेको छ । उक्त उद्योगको बुधवार एक कार्यक्रमबीच शिलान्यास गरिएको छ ।
उक्त उद्योगमा साढे १ अर्ब ५० करोड रुपैयाँ लगानी गर्न लागिएको गुरुङले आर्थिक अभियानलाई जानकारी दिए । स्वदेशमा खपतसँगै विदेशमा निर्यात गर्ने उद्देश्य राखेर उद्योग सञ्चालन गर्न लागिएको उनको भनाइ छ ।
उद्योगबाट उत्पादित सामान भाटभटेनी सुपरस्टोरका आउटलेटहरूमा राखिनेछन् । भाटभटेनी सुपरस्टोरका २७ ओटा आउटलेट देशका प्रमुख शहरहरूमा सञ्चालित छन् ।
‘आफ्नै आउटलेट पनि छ । त्यहाँ पनि गार्मेन्टका सामान राखिनेछ,’ उनले भने, ‘अन्यत्रबाट माग आएमा त्यहाँ पनि दिइनेछ ।’
बंगलादेशमा गार्मेन्ट निर्यातमा अहिले समस्या देखिएकाले आफ्नो उत्पादनको माग विदेशी बजारमा हुनेमा विश्वस्त छन् उनी । ‘अहिले बंगलादेशमा गार्मेन्ट निर्यातमा समस्या देखिएको छ । त्यही भएर नेपालमा अवसर छ,’ उनले भने ।
त्यसो त नेपाली गार्मेन्टको माग विदेशी बजारमा पनि घटेको देखिन्छ । नेपाल राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्ष (आव) २०८१/८२ को ९ महीनामा तयारी पोशाकको निर्यात गत आवको सोही अवधिको तुलनामा १० दशमलव ३ प्रतिशतले घटेर ४ अर्ब २५ करोड रुपैयाँमा सीमित भएको छ । गत आवभरिमा ६ अर्ब २९ करोड रुपैयाँ बराबरको गार्मेन्ट निर्यात भएको थियो ।
चालू आवको ९ महीनामा गार्मेन्ट आयात १९ दशमलव २ प्रतिशतले बढेर ३० अर्ब ८४ करोड रुपैयाँ नाघेको राष्ट्र बैंकको तथ्यांकले देखाउँछ ।
सरकारले निर्यात उद्योगका हकमा विभिन्न सुविधा घोषणा गरेकोले यसतर्फ भाटभटेनी समूह आकर्षित भएको गुरुङको भनाइ छ । उनले आगामी ९–१० महीनामा उद्योग सञ्चालन गर्ने गरी काम भइरहेको बताए । उनले उद्योगमा अन्तरराष्ट्रिय मापदण्डको अत्याधुनिक प्रविधिको मेशिन राखिने जानकारी दिए । मेशिन ल्याउने प्रक्रिया चलिरहेको उनको भनाइ छ ।
उद्योगका लागि आवश्यक कच्चा पदार्थ भने विदेशबाट आयात गरिनेछ । कच्चा पदार्थ चीन, कोरिया, जापान र भारतबाट ल्याइने गुरुङले बताए । उद्योग सञ्चालन भएपछि भारत, चीन, कोरियालगायत देशमा सामान निर्यात गरिने उनको भनाइ छ । ‘कोरिया, चीन र भारतमा बिजनेश रिलेसन छ । त्यसकारण उहाँहरूलाई नेपाली सामान बेच्न सकिन्छ,’ उनले भने ।
उद्योगमा महिला, पुरुष र बालबालिकाका लागि आवश्यक कपडा उत्पादन गरिनेछ ।
गुरुङका अनुसार उद्योगमा १ हजार २०० देखि १ हजार ४०० जनासम्मले रोजगारी पाउनेछन् । ‘यसका लागि स्थानीयलाई भर्ना गरेर तालिम सेन्टरको पनि व्यवस्था गरेका छौं,’ उनले भने ।
भाटभटेनी समूहले काठमाडौंको दरबारमार्गमा पाँचतारे होटल अन्नपूर्ण निर्माण गरिरहेको छ ।
भाटभटेनी सुपरमार्केट एन्ड डिपार्टमेन्टल स्टोर प्रालिको सञ्चालन आम्दानी (रु अर्बमा)