काठमाडौं । नबिल बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा मनोज ज्ञवाली नियुक्त भएका छन् । जेठ २२ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले ज्ञवालीलाई सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो । जेठ २२ गतेदेखि नै लागू हुने गरी ज्ञवालीलाई ४ वर्षका लागि सीईओ नियुक्त गरिएको जानकारी कम्पनीले दिएको हो ।
यसअघिका सीईओ ज्ञानेन्द्रप्रसाद ढुङ्गानाले गत चैत १० गते पदबाट राजीनामा दिएसँगै चैत १३ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले कम्पनीका वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत ज्ञवालीलाई कायम मुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिएका थियो ।
ज्योति विकास बैंकको प्रमुख कार्यकारी अधिकृत पद छोडेर ज्ञवाली नबिल बैंक प्रवेश गरेका थिए । नायव महाप्रबन्धक, महाप्रबन्धक, नायव प्रमुख कार्यकारी अधिकृत, कायम मुकायम प्रमुख कार्यकारी अधिकृत हुँदै ज्ञवाली नबिल बैंकको प्रमुख कार्यकारी अधिकृत भएका हुन् । ज्ञवालीसँग नेपाल राष्ट्र बैंकमा काम गरेको अनुभव समेत छ । उनी चार्टर्ड एकाउन्टेन्ट हुन् । वित्तीय विश्लेषकका रुपमा पनि उनी चर्चित छन् ।