काठमाडौं । प्रभु क्यापिटल लिमिटेडले नयाँ योजना सञ्चालनका लागि जेठ २३ गतेदेखि इकाई निष्कासन गरेको छ । क्यापिटलले प्रभु सिस्टमेटिक इन्भेष्टमेण्ट स्किम नाम खुलामुखी योजना सञ्चालन गर्न लागेको हो ।
त्यसका लागि क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित मूल्यका २५ करोड रुपैयाँ बराबरको २ करोड ५० लाख इकाई निष्कासनमा ल्याएको हो । यस योजनाको कुल आकार ४ करोड इकाइको हुनेछ ।
कुल इकाईमध्ये ७ दशमलव ५ प्रतिशत अर्थात् ३० लाख इकाई कोष प्रवर्द्धक प्रभु बैंक र ७ दशमलव ५ प्रतिशत अर्थात् ३० लाख इकाई योजना व्यवस्थापक प्रभु क्यापिटललाई सुरक्षित गरिएको छ । यीबाहेक २ करोड ५० लाख इकाई भने सार्वजनिक निष्कासनमा ल्याइएको हो ।
यी इकाई छिटोमा जेठ २७ गतेसम्म निष्कासनमा रहनेछन् । सो अवधिसम्म मागबमोजिम आवेदन नपरेमा भने ढिलोमा असार ६ गतेसम्म निष्कासन खुला रहनेछ ।
इकाई निष्कासन तथा विक्री प्रबन्धकको जिम्मेवारी पनि योजना व्यवस्थापक प्रभु क्यापिटल लिमिटेडले पूरा गर्नेछ । इच्छुक खरीदकर्ताहरूले यी इकाई खरीदका लागि सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका कार्यालयमार्फत आवेदन पेश गर्न सक्नेछन् । साथै मेरो शेयर अनलाइन समेत आवेदनका लागि प्रयोग गर्न सक्नेछन् ।
इकाई निष्कासनका लागि गराइएको रेटिङ्गमा इक्रा नेपालले कोष प्रवर्द्धकलाई इक्राएनपी इस्यूअर रेटिङ्ग ट्रिपल बी माइनस प्रदान गरेको छ भने योजना व्यवस्थापकलाई केयर रेटिङ्ग नेपालले केयर एनपी एएमसी क्वालिटी ३ प्लस रेटिङ्ग प्रदान गरेको छ ।
यो योजना खुलामुखी प्रकृतिको भएकाले निरन्तर चलिरहनेछ । धितोपत्र दोस्रो बजारमा बन्दमुखी प्रकृतिको योजनाको जसरी कारोबार नहुने हुँदा योजना व्यवस्थापक तथा कोष प्रवर्द्धक आफै वा अन्य आधिकारिक संस्थाहरूलाई वितरक तोकी इकाई खरीदविक्री हुने व्यवस्था मिलाइनेछ ।
खुलामुखी योजनाका इकाईहरू खरीदविक्री गर्न इकाईधनीहरूलाई कुनै प्रतिबन्ध हुँदैन । योजनाको खुद सम्पत्ति मूल्यको आधारमा यस योजनाको इकाई खरीद विक्री हुनेछ ।